चौतारा साँगाचोकगढी नगरपालिका-६ गौरतीका रोमन तामाङ चौतारा अस्पतालले श्रीमती मुनाको निःशुल्क शल्यक्रिया गरी बच्चा जन्माइदिएपछि फुरुङ्ग पर्नुभएको छ । पहिलो सन्तान जन्माउन उहाँले गर्भवती श्रीमतीलाई लिएर धुलिखेल नै पुग्नुपरेको थियो । अहिले चौतारामै सेवा पाएपछि तामाङ परिवारले अस्पतालको अवस्था फेरिएको महसुस गरेको छ ।
जितपुरकी जमुना गिरीले विगतमा ढाड र दमको उपचार गराउन काठमाडौंका विभिन्न अस्पताल धाउनुभयो । अहिले चौतारा अस्पतालमै सेवा लिइरहनुभएको छ । यो अस्पतालले अहिले विशेषज्ञ चिकित्सकसहितको आधुनिक सेवा दिन थालेपछि उहाँलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको हो ।
चौतारा अस्पतालको स्तरोन्नति गर्न चीन सरकारले सहयोग गरेको हो । अहिले अस्पताल पुग्नेहरुले सहजै उपचार पाउन थालेका छन् । पछिल्लो समय हाडजोर्नी, फिजियोथेरापी र दुई वटा शल्यक्रिया कक्ष र बालबालिका लागि एस एन सियु र एन आइ सियु सेवासमेत थप भएको छ । प्रविधियुक्त अस्पतालमा नयाँ भवन र उपचार राम्रो भएपछि बिरामीको चाप पनि बढेको छ ।कहिले औषधि त कहिले चिकित्सकको अभाव झेलिरहने यो अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहितको ५० शैयाको बनेको हो ।