बर्खासँगै डेंगी संक्रमणको जोखिम बढ्यो

२० वर्षअघि चितवनमा देखिएको डेंगी विगत दुई वर्षदेखि देशैभर फैलियो
७२ जिल्लामा संक्रमण देखिँदासमेत रोकथाम र नियन्त्रणमा स्वास्थ्य संयन्त्र भएन गम्भीर
असार ९, २०८१ |कृपाल गौतम
बर्खासँगै डेंगी संक्रमणको जोखिम बढ्यो

काठमाडौं । गर्मी बढेर बर्खा सुरु भएसँगै डेंगीको संक्रमणले प्रकोपको रुप लिने जोखिम बढेको छ । पछिल्लो डेढ महिनामा ४३७ जनामा संक्रमण देखिएको छ भने विगत ६ महिनामा मात्र एक हजार २६८ जना डेंगीबाट संक्रमित भइसकेका छन् ।

यो वर्ष ७२ जिल्लामा संक्रमण देखिँदा चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् भने संघ सरकारले पनि एक्लो प्रयासबाट मात्र रोकथाम र नियन्त्रण गर्न नसक्ने जनाएको छ । नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा देखापरेको डेंगीको संक्रमण २०२२ सम्म आइपुग्दा ७७ वटै जिल्लामा फैलियो । यो क्रम दुई वर्षयता निरन्तर छ ।

गत मे महिनामा नेपालमा २५१ जनामा डेंगी संक्रमण देखिएको थियो । यो महिना अहिलेसम्म १८६ जनामा संक्रमण देखिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । त्यसैगरी झापा, चितवन, मकवानपुरलगायत जिल्लामा संक्रमण बढी देखिइरहेको छ । डेंगी संक्रमितहरु उपचारका लागि अस्पताल पुग्न थालिसकेको टेकु अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन वज्राचार्यको भनाइ छ ।

यो वर्ष मुस्ताङ, डोल्पा, मुगु, हुम्ला तथा जुम्लाबाहेक ७२ जिल्लामा डेंगी फैलिसकेको सरकारी तथ्यांक छ । कुनै बेला गर्मी ठाउँमा मात्र हुने यो संक्रमण पछिल्ला वर्षहरुमा चिसो स्थानमा पनि देखिन थालेको छ । नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा देखापरेको डेंगीको संक्रमण २०१५ अघिसम्म देशका २५ भन्दा कम जिल्लामा देखिने गरेको थियो ।

२०२२ मा पहिलोपटक देशका ७७ वटै जिल्लामा यसको संक्रमण भेटियो । त्यसपछि लगातार देशैभर डेंगी संक्रमण फैलिएको छ । सामान्यत: तापक्रम बढी हुने स्थानमा मात्रै संक्रमण हुने गरेकामा अहिले भने चिसो स्थानमा पनि संक्रमित भेटिएको कीटविज्ञ शम्भुनाथ झा बताउनुहुन्छ । मानिसहरुको आवतजावतसँगै डेंगी फैलाउने लामखुट्टे देशभर पुगेको र जलवायु परिवर्तनका कारण लामखुट्टेका लागि उचित तापक्रम सिर्जना भएकाले संक्रमण देशभर देखिएको झा बताउनुहुन्छ ।

नेपालमा २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखिएकामा ८८ जनाको मृत्यु भएको थियो भने २०२३ मा ५२ हजार ७ सय ९० मा संक्रमण देखिँदा २० जनाको मृत्यु भएको थियो । अहिले बर्खा लागेसँगै डेंगी संक्रमणको जोखिम देखिइसकेको छ । आउने महिना अझै जोखिम बढ्ने आकलन गरेको सरकारले रोकथामका लागि भने खासै तयारी गरेको छैन । संक्रमण नियन्त्रणका लागि स्थानीय तहले काम नगरेसम्म आफूहरुको एक्लो प्रयासले मात्र सम्भव नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. गोकर्ण दाहाल बताउनुहुन्छ ।

यहाँ के बुझ्न जरुरी छ भने कसैलाई डेंगीको चारवटा सेरो टाइप अर्थात प्रकारमध्ये कुनै एउटा संक्रमण भएको छ भने पुन: उही प्रकारको संक्रमण हुने सम्भावना कम हुन्छ । तर अर्को प्रकारको संक्रमण भएमा भने अवस्था जटिल हुनसक्छ । त्यसैले पहिले डेंगीको संक्रमण भएकाहरु झनै सचेत हुन जरुरी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।