बाजुराका आमाहरू कहिलेसम्म बाटोमै सुत्केरी हुने ?

मंसिर २४, २०८० |प्रेम रौले
बाजुराका आमाहरू कहिलेसम्म बाटोमै सुत्केरी हुने ?

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले मंसिर १९ गते मंगलबार बाटोमै बच्चा जन्माइन् । सुत्केरी व्यथा लाग्ने बित्तिकै पानसरा एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताएकी छन् । उनको यो भन्दा पहिला एक छोरा र एक छोरी छन् । पानसराले तीनवटै सन्तान बाटोमै जन्माएकी हुन् ।

बाजुराकै बडिमालिका-७ की मनीषा विक आफूहरूले राम्रो गर्भ जाँचको सुविधा नपाएको गुनासो गर्छिन् । ‘अस्पतालमा गएर सोधेपनि हामीलाई थाह छैन भन्छन् । हामीलाई धेरै पीडा छ,’ मनीषाले भनिन् ।

यसरी असुरक्षित सुत्केरी हुँदा नवजात शिशुसँगै आमामा पनि सङ्क्रमणको जोखिम उच्च हुने चिकित्सक बताउँछन् । बाटोमै जन्मिने शिशुहरूमा फोहोरको कारण हुने सङ्क्रमण, चिसोको कारण कठ्याङ्ग्रिएर, टिटानस भएर ज्यान जाने जोखिम रहेको हुन्छ ।

बाजुरामा धेरैजसो सुत्केरी बाटोमै हुने गरेको स्वास्थ्यकर्मी रश्मी हमाल बताउँछिन् । रश्मी भन्छिन्, ‘सुत्केरी बाटोमै हुनुको कारण चाहिँ प्राय स्वास्थ्यकर्मीले भनेको कुरा वा सुझावहरू मान्नु हुन्न । यस्तै उहाँहरूले परम्परागत विश्वास नछोडेर अस्पताल आउन मान्नु भएको छैन । त्यही भएर धेरै जनाले बाटोमै बच्चा जन्माएको अवस्था छ ।’

बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुग्दा धेरैको ज्यान गएको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरीलाई समयमा नै उपचार सेवा पुर्‍याउन हवाई उद्धार कार्यक्रम सुरु भएको छ। तर अप्ठेरो परेको बेला तत्काल सेवा प्रवाहमा समस्या छ ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा पहुँच नहुनु, दक्ष स्वास्थ्यकर्मीको अभावका कारण मातृ मृत्युदरमा सुधार ल्याउन समस्या भइरहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावलीमा २०७७ मा प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले चौबिस घण्टा आकस्मिक सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । 


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement