स्वास्थ्य विमा बोर्डको अध्यक्ष नियुक्तिमा सरकारको आलटाल

पुस ९, २०८१ |कृपाल गौतम
स्वास्थ्य विमा बोर्डको अध्यक्ष नियुक्तिमा सरकारको आलटाल

काठमाडौं । स्वास्थ्य विमा बोर्डको अध्यक्ष रिक्त भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको छैन । नेतृत्व नहुँदा बोर्डको योजना बनाउन र निर्णय कार्यान्वयन गर्नसमेत समस्या भएको छ ।

विमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले गत भदौमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिनुभएको थियो । कार्यकारी निर्देशक डाक्टर दामोदर बस्यौलाको गत कात्तिक २४ गतेदेखि ४ वर्षे कार्यकाल सकिएपछि यो पद पनि रिक्त छ । तर, यी दुवै पदमा सरकारले अझै नियुक्ति प्रक्रिया अघि बढाएको छैन । 

स्वास्थ्य विमामा देखिएका समस्या समाधान गर्न डाक्टर शम्भु आचार्यको संयोजकत्वमा समिति गठन भएको र केही दिनभित्रै समितिले प्रतिवेदन बुझाएपछि रिक्त पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले जानकारी दिनु भयो ।

स्वास्थ्य विमा वोर्ड स्वायत्त निकाय भए पनि हाल स्वास्थ्य मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । तर, निमित्त कार्यकारी निर्देशक हुँदा बोर्डलाई योजना बनाउन र निर्णय कार्यान्वयन गर्न कठिन भइरहेको एक सदस्यले जानकारी दिनु भयो । पछिल्लो समय स्वास्थ्य विमा प्रभावकारी नभएको भन्दै सेवाग्राही असन्तुष्ट छन् भने अस्पतालहरुले पनि समयमा भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement