राजनीतिक हस्तक्षेप र खिचातानीले बन्द हुने अवस्थामा वैद्यखाना

मंसिर १७, २०८० |कृपाल गौतम
राजनीतिक हस्तक्षेप र खिचातानीले बन्द हुने अवस्थामा वैद्यखाना

काठमाडौं । ४ सय वर्षभन्दा बढीको इतिहास बोकेको सिंहदरबार वैद्यखाना राजनीतिक हस्तक्षेप र खिचातानीका कारण बन्द हुने अवस्थामा पुगेको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वले आफूखुसी गर्ने कार्यकारी निर्देशक नियुक्ति र कर्मचारीबीचकै आपसी किचलोका कारण २ महिनायता त औषधि उत्पादन नै बन्द भएको छ । मन्त्रालयले भने वैद्यखानाको समस्या समाधान गर्न कुनै पहल गरेको छैन । 

दक्षिण एसियाकै पुरानोमध्येको एक मानिएको सिंहदरबार वैद्यखानाले कुनै बेला १ सय ५० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने गर्थ्यो । तर, फितलो व्यवस्थापन र सरकारको प्राथमिकतामा नपर्दा १५ प्रकारका औषधिमा मात्र सीमित भएको थियो । ती पनि घट्दै गएर दसैंअघिसम्म तीन वटा मात्र उत्पादन हुने गरेका थिए । २ महिनादेखि त कच्चा पदार्थ नहुँदा उत्पादन नै ठप्प छ । 

वैद्यखानामा २०७७ सालको गठन आदेशअनुसार आयुर्वेद समूहको ११ तहका कर्मचारी खटाउने प्रावधान छ । त्यसैअनुसार गत साउन २३ गतेको सरकारी निर्णयबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागका महानिर्देशक वासुदेव उपाध्यायलाई थप जिम्मेवारी दिँदै वैद्यखाना पठाइयो । तर कार्तिक २ गते फेरि उनलाई हटाएर नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक प्रदीप केसीलाई नियुक्त गरियो । 

गठन आदेशमा ११ तहको कार्यकारी हुने प्रावधान भए पनि दरबन्दी नभएको र सरकारले अस्पष्ट रूपमा जिम्मेवारी दिएको भन्दै उनी गएनन् । उल्टै नरदेवीमा अरू व्यक्तिलाई ल्याउन आफूलाई वैद्यखाना पठाइएको भन्दै अदालत गए । त्यसयता पद रिक्त छ । जानकारहरु राजनीतिक स्वार्थअनुसार कर्मचारी पठाउने तथा सही मानिसलाई जिम्मेवारी नदिँदा समस्या आएको बताउँछन् ।

कार्यकारी निर्देशकबाहेकलाई आर्थिक अधिकार नदिइँदा कच्चा पदार्थ अभाव निम्तिएको कर्मचारीको भनाइ छ । तर, औषधि नै उत्पादन नहुने अवस्था आउँदा पनि समाधानमा स्वास्थ्य मन्त्रालयले चासो दिएको छैन ।

आयातित आयुर्वेदिक औषधिले बजार ढाकिरहेका बेला उपभोक्ताको विश्वास जितेको सरकारी उत्पादक कम्पनी बन्द हुने अवस्था आउनु दुर्भाग्य हो । त्यसैले वैद्यखानालाई सुधार गर्दै पुरानै अवस्थामा ल्याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वले ध्यान दिनुपर्ने देखिन्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।