काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिका एक सय तीन प्रकारका समिश्रणमा रोक लगाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिस नगरेका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात र प्रयोग नगर्न विभागले उत्पादक, आयातकर्ता तथा वितरकलाई निर्देशन दिएको हो । डब्ल्यूएचओले रोक लगाएका एन्टिबायोटिकको समिश्रण भारतमा प्रयोग भइरहेकाले नेपालमा भित्रन नदिन यस्तो निर्णय लिइएको विभागले जनाएको छ ।
‘यसमा रहेका एकल एन्टिबायोटिकको प्रयोग त स्थापित छ । तिनलाई प्रयोग गर्न सकिन्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, ‘तर तिनलाई समिश्रण गरेर, जुन उद्देश्यले समिश्रण गरिएको छ त्यो उपयुक्त भएन । त्यसकारण यिनीहरु प्रयोग योग्य छैनन् ।’
यस्तै औषधिविज्ञ अमृत खनालका अनुसार डब्ल्यूएचओले नबुझेरै बन्द गर भनेको छैन । उसले जनताको स्वास्थ्यबारे बुझेरै बन्द गर्न भनेको खनालको भनाइ छ । ‘डब्ल्यूएचओले एन्टिबायोटिकमा भएका समिश्रणले गर्दा जनताको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने थाहा पाएरै प्रयोगमा रोक लगाएको हो ।’
हाल बजारमा उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका एन्टिबायोटिक एवं समिश्रणको हकमा भने बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउन विभागले भनेको छ । त्यसपछि त्यस्ता औषधि बजारबाट फिर्ता लिई दर्तासमेत रद्द गरिनेछ ।
सूचीमा रहेका १०३ खालका समिश्रणमध्ये विभागमा १४ समिश्रण दर्ता रहेको जनाइएको छ । एन्टिबायोटिकलाई न्यूनीकरण, रोकथाम तथा नियन्त्रण गर्न यो निर्णय लिइएको विभागको भनाइ छ । नेपालमा एन्टिबायोटिकको जथाभावी प्रयोग हुने गरेको छ ।