नेपालबाटै निर्यात भएका जडीबुटीबाट बनेका औषधि आयात गर्नुपर्ने बाध्यता !

जेष्ठ १०, २०८० |कृपाल गौतम
नेपालबाटै निर्यात भएका जडीबुटीबाट बनेका औषधि आयात गर्नुपर्ने बाध्यता !

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा झन्डै २ अर्ब बराबरको जडीबुटी निर्यात भयो । छिमेकी भारतसहित युरोप, चीनलगायतका मुलुकमा औषधिजन्य नेपाली जडीबुटीको माग छ । तर, नेपालमा आयुर्वेदिक औषधि उद्योग प्रवर्द्धनमा सरकारले नै चासो नदिँदा नेपालबाट लगिएका तिनै जडीबुटीबाट बनेका औषधि आयात गरेर बजारको माग धान्नुपर्ने बाध्यता छन् । झन् त्यसमाथि सरकारी औषधि उत्पादक कम्पनी सिंहदरबार वैद्यखाना दयनीय अवस्थामा छ ।

औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा आयुर्वेदिक औषधिको बजार करिब साढे ७ अर्बको छ । त्यसमध्ये नेपाली उद्योगहरुले झन्डै २ अर्ब बराबरको मागमात्र धानेका छन् भने बाँकी साढे ५ अर्बको आयुर्वेदिक औषधि आयात हुने गर्छ । आमउपभोक्ताले नेपाली उत्पादन नै बढी खोज्ने गरे पनि त्यसअनुसार माग धान्न नसकेको व्यवसायी बताउँछन् ।

नेपालमा हाल साना-ठूला गरी १ सय ९६ वटा आयुर्वेदिक औषधि उद्योग दर्ता छन् । तिनमा ४२ वटामात्र सञ्चालनमा छन् । कतिसम्म भने सरकारी उत्पादक सिंहदरबार वैद्यखानामा १ महिनादेखि उत्पादन नै ठप्प छ । जसको प्रमुख कारण आन्तरिक किचलो रहेको छ ।

आयुर्वेदिक औषधिको अध्ययन-अनुसन्धानमा पश्चिममा मुलुकहरुले समेत निकै चासो दिन थालिसकेका छन् । तर नेपालमा आयुर्वेदिक औषधि उत्पादन वृद्धि तथा प्रवर्द्धनमा सरकारलाई चासै छैन ।

नेपालमा भारतका मात्रै १४ उद्योगका आयुर्वेदिक औषधि आयात हुने गरेको सरकारी तथ्यांक छ । नेपालमा बर्सेनि ठूलोमात्रामा औषधिजन्य जडीबुटी उत्पादन हुने गरेको भए पनि तिनको सही सदुपयोग गर्दै आधुनिक तरिकाले औषधि उत्पादन गर्न नसक्दा आयुर्वेद क्षेत्रमा नेपाल सधैं पछाडि परेको विज्ञ बताउँछन् ।

नेपाली जडीबुटीको प्रयोग गर्दै नेपालमै आयुर्वेदिक औषधि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने देखिन्छ । यसका साथै नेपाली उद्योगहरुले गुणस्तरलाई समेत ध्यान दिनुपर्ने खाँचो छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।