आज विश्व अटिजम जागरुकता दिवस मनाइँदै

चैत्र १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
आज विश्व अटिजम जागरुकता दिवस मनाइँदै

काठमाडौं । विश्व अटिजम जागरुकता दिवस आज नेपालमा पनि चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।

अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो ।

अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ । वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर पछिल्लो समय स्पेक्ट्रम डिसअर्डरको लक्षणले समस्यामा पारेकोले सचेतनाका लागि जागरुकता दिवस मनाउन थालिएको हो ।

यस दिवसमा अटिजमको क्षेत्रमा काम गरिरहेको अटिजम नेपाल केयर सोसाइटीले विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । सोसाइटीका अनुसार नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक छैन । विश्वमा यसको संख्या भने साढे दुईदेखि तीन लाखसम्म रहेको बताइन्छ ।

अटिजमको लक्षणहरु प्रायः जन्म भएको तीन वर्ष भित्रै बच्चाहरुमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डिसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटीभन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ ।

आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ ।

अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन् ।

यी तीन मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्छन् । साथै उनीहरुमा रहने इन्द्रियहरुको उतारचढावको फलस्वरुप अटिजम भएका व्यक्तिले आफूसँगको वातावरण, व्यक्ति र बस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँछ, जुन अस्वीकृत र असमानरुपमा देखा पर्छ ।

अटिजमको प्रसार बढ्दो छ, हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.