अंग प्रत्यारोपण : कानुन बन्यो तर कार्यान्वयन कमजोर ! (भिडियो रिपोर्ट)

फाल्गुन १९, २०७९ |कृपाल गौतम
अंग प्रत्यारोपण : कानुन बन्यो तर कार्यान्वयन कमजोर ! (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालमा ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भएकाहरुबाट अंग प्रत्यारोपण गर्न मिल्ने कानुन बनेको ७ वर्ष भयो । २०७२ सालमा मानव शरीर अंग प्रत्यारोप ऐन संशोधन गरेर मस्तिष्क मृत्यु अर्थात् मस्तिष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी मृत अवस्थामा पुगेकाहरुको शरीरबाट अंग निकालेर अर्को व्यक्तिलाई प्रत्यारोप गर्न पाइने व्यवस्था गरियो । तर हालसम्म अंगदान गर्ने ५ जनाको मात्रै मस्तिष्क मृत्यु भएलगत्तै अंग निकालेर १३ जनालाई प्रत्यारोपण गरिएको छ ।

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मंगलबार मस्तिष्क मृत्यु भएका एक जनाको मिर्गौला निकालेर २ जनामा र १ जनामा कलेजो प्रत्यारोपण गर्यो । मस्तिष्क मृत्यु भएकाबाट भएको यो पहिलो प्रत्यारोपण भने हैन । यसअघि पनि ४ जनाको अंग प्रत्यारोपण भइसकेको छ । पछिल्लो पटक भएको प्रत्यारोपणसहित हालसम्म नेपालमा ५ जना मस्तिष्क मृत्यु भएकाहरुबाट १० जनामा मिर्गौला र ३ जनामा कलेजो प्रत्यारोपण भएको छ ।

प्रत्यारोपणका लागि अंग नपाउने वा आफन्तले दिन नमिल्नेहरुलाई मस्तिष्क मृत्यु भएकाहरुबाट उपलब्ध अंगले धेरैलाई नयाँ जीवन प्रदान गर्छ ।

अहिले मस्तिष्क मृत्यु भएकाहरुबाट उपलब्ध हुने गरी करिब ७ सय जनाले मिर्गौला तथा २० जनाले कलेजोको माग गर्दै अंग प्रत्यारोपण केन्द्रमा निवेदन दिएका छन् । मस्तिष्क मृत्यु भएकाहरुबाट कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अंग निकाल्न सकिने भए पनि नेपालमा भने कलेजो र मिर्गौलाको मात्र प्रत्यारोपण भएको छ । तर ६ वर्षमा जम्मा ५ जना मस्तिष्क मृत्यु भएकाहरुबाट मात्र अंग पाउनु निकै कम रहेको चिकित्सक बताउँछन् ।

वर्षमा करिब ३ हजारको मिर्गौला र १ हजारको कलेजो बिग्रने चिकित्सक बताउँछन् । यता बर्सेनि करिब १ हजार जनाको मस्तिस्क मृत्यु हुने गरेको अनुमान छ। मस्तिष्क मृत्यु भएकाहरुबाट सजिलै अंग पाउन सकिएमा धेरैले अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यतालाई कम गर्न सकिन्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।