सुत्केरीको स्वास्थ्य जाँच गर्न घरघरमै पुग्छन् हेलम्बुका स्वास्थ्यकर्मीहरू

फाल्गुन १३, २०७९ |कमला पाख्रिन
सुत्केरीको स्वास्थ्य जाँच गर्न घरघरमै पुग्छन् हेलम्बुका स्वास्थ्यकर्मीहरू

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा स्वास्थ्यकर्मीहरू सुत्केरी महिलाका घरघरमा पुग्ने गर्छन् । सरकारी मापदण्डअनुसार महिलाले सुत्केरीको सात दिनभित्र दुई पटक स्वास्थ्य जाँच गराउनुपर्छ । सडक यातायातको सहज पहुँच नहुँदा सुत्केरी महिलालाई स्वास्थ्य स‌ंस्थासम्म आउन कठिन हुने भएकाले स्वास्थ्यकर्मीहरू घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका हुन् ।

सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म आउन कठिनाइ हुने बुझेर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाउन थालेको छ । शिशु जन्मेको पहिलो परीक्षण तीन दिनभित्रै गर्नुपर्छ  । बर्थिङ सेन्टरमा सुत्केरी भएर डिस्चार्ज भएका आमा र शिशुको दोस्रो स्वास्थ्य परीक्षण पनि घरमै पुगेर गरिन्छ । घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित रूपमा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधार भएको छ ।

टाढा टाढाबाट स्वास्थ्य केन्द्र आएका सुत्केरी महिला दिनभरको हिँडाइले बिरामी पर्ने, रगत बग्नेजस्ता समस्याले ग्रसित भई आमा र बच्चा दुवैको स्वास्थ्य बिग्रिने भएकोले घरघरमा स्वास्थ्यकर्मी खटाउन थालिएको हो । नियमित परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या देखिए पहिचान गरेर जोखिम व्यवस्थापन गर्न सहज भएको छ ।

सुत्केरी जाँच गर्न जाने स्वास्थ्यकर्मीले दैनिक ५ सय भत्ता पाउँछन् । जाँच र पोषण खर्च दिन थालेकाले बर्थिङ सेन्टरमा आउने गर्भवतीको सङ्ख्या बढ्नुका साथै मातृशिशुमृत्युदर पनि घटेको गाउँपालिकाले जनाएको छ ।

हेलम्बुको हिमाली गाउँ तार्केघ्याङ र मेलम्चीघ्याङबाट स्वास्थ्य केन्द्र भएको ठाउँ तिम्बु आउन दिनभर लाग्छ । इचोक र सिरिसेमा रहेका बर्थिङ सेन्टर आउन पनि हिमाली गाउँका महिलालाई एक दिन लाग्छ । स्वास्थ्यकर्मीहरू घरमा पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था जानकारी लिने र आवश्यकता अनुसार उपचार गर्ने विधि प्रभावकारी मात्रै बनेको छैन सुत्केरी आमालाई सहज पनि भएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।