नेपालको उत्कृष्ट आँखा उपचार सेवा- देश बाहिर पुग्यो, देशभित्र पुगेन

माघ ८, २०७९ |कृपाल गौतम
नेपालको उत्कृष्ट आँखा उपचार सेवा- देश बाहिर पुग्यो, देशभित्र पुगेन

काठमाडौं । नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल मानिन्छ । छिमेकी मुलुकबाटसमेत आँखा उपचार गर्न मानिसहरू नेपाल आउँछन् । 

नेपालका विज्ञहरूले तेस्रो मुलुकमा गएर आँखा शिविर सञ्चालन गरिरहेका हुन्छन् । नेपालमा उत्पादन भएको मोतिया विन्दु बिरामीहरूका लागि इन्ट्राकुलर लेन्स विभिन्न मुलुकमा निर्यातसमेत हुने गरेको छ । तर अझै पनि नेपालको ग्रामीण क्षेत्रका नागरिकहरू भने आँखाको उपचारका लागि शिविर कहिले आउला भनेर कुर्न बाध्य छन् ।

नेपालका करिब ६५ प्रतिशत दृष्टिविहीनहरूमा मोतीया विन्दुको समस्या रहेको पाइन्छ । त्यसबाहेक मधुमेह, उच्च रक्तचाप, सङ्क्रमणलगायतका कारणले पनि आँखाको समस्या निम्तने चिकित्सकहरू बताउँछन् । अस्पतालहरू सहर केन्द्रित हुँदा, उपचार गर्नुपर्छ भन्ने जनचेतना नहुँदा, स्वास्थ्य संस्थामा जान समय र पैसाको अभाव लगायतका कारण नागरिकलाई आँखा उपचार सेवा अझै सहज पहुँच छैन ।

स्वास्थ्य सेवा सहरवासीका लागि जतिसुकै सहज र आधुनिक भए पनि दूरदराजका नागरिकले पहुँच नपाएसम्म त्यसको कुनै अर्थ हुँदैन । त्यसैले आँखा उपचार सेवाको दायरालाई ग्रामीण भेगसम्म विस्तार गर्न स्वास्थ्यको नेतृत्व तहले ध्यान दिनुपर्ने देखिन्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।