रुकुम पूर्व । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला, मगर खाम भाषीहरुको बाहुल्य रहेको जिल्ला, अर्ग्यानिक कृषि उपज उत्पादन हुने जिल्ला, नेपालको एकमात्र सिकार आरक्ष भएको जिल्ला आदि विभिन्न उपमाले परिचित रुकुम पूर्व जिल्ला अब ठुलो पर्दामा देखिँदै छ ।
चलचित्र ‘घरज्वाइँ’ र ‘खुस्मा’ मार्फत ठुलो पर्दामा रुकुम पूर्वको सुन्दर भूगोल, मौलिक भाषा, कला-संस्कृति, र अर्ग्यानिक जीवनशैलीलाई कथामार्फत दर्शकमाझ पस्किन लागिएको हो ।
भोलि (शुक्रबार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘घरज्वाइँ’ र अगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खुस्मा’ ले रुकुम पूर्वलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा परिचत बनाउने आशा राखिएको छ ।
यसअघि विभिन्न लघु चलचित्र र डकुमेन्ट्रीमा रुकुम पूर्व देखिए पनि यी दुई चलचित्रमार्फत पहिलोपल्ट ठुलो पर्दामा आफ्नो जिल्लालाई देखाउन लागिएकामा गौरवान्वित भएको ‘घज्वाइँ’का निर्देशक अनिल बुढा मगरले बताउनुभयो । ‘हाम्रो आफ्नै ठाउँ-ठाउँको कथालाई जस्ताको-तस्तै दर्शकसमक्ष पुर्याउने कोसिस गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले एउटा ड्रिम प्रोजेक्टका रुपमा यसलाई अगाडि बढाएका छौं । हाम्रो चलचित्र अबको केही घण्टापछि दर्शकहरुको हुनेछ ।’
गत मंगलबार प्रिमियर सोसमेत गरिसकेको ‘घरज्वाइँ’ को अधिकांश छायांकन रुकुम पूर्वको तकसेरामा गरिएको हो भने, केही भाग रुकुम पूर्वकै लकुम गाउँ र बागलुङको ढोरपाटन र आसपासमा गरिएको छ । प्रिमियर सो पश्चात् आएका प्रतिक्रियाले आफूलाई आशावादी बनाएको भन्दै निर्देशक मगरले यो चलचित्रले दर्शकलाई मौलिक स्वाद प्रदान गर्नेमा विश्वास दिलाउनुभयो ।
रुकुम पूर्वमा बसोबास गरिरहेका आदिवासी जनजाति खासगरी मगर समुदायको कथा भन्ने चलचित्र बनेको ‘घरज्वाइँ’का निर्मता जनक घर्तीले बताउनुभयो । ‘चलचित्रको कथा नै यहाँको परम्परागत जीवनशैलीमा आधारित छ,’ उहाँले भन्नुभयो, ‘साथै हामीले सुन्दर रुकुम पूर्वलाई पनि चलचित्रमार्फत देखाउँदै छौं ।’
रुकुम पूर्वको तकसेरामा चलचित्र ‘घरज्वाइँ’ छायांकन गरिँदाको दृश्य । तस्बिर : कान्तिपुर
गत चैत पहिलो साता करिब एक महिना छायांकनको काम सकेर प्रदर्शनको संघारमा आइपुगेको ‘घरज्वाइँ’मा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका छ । साथै चलचित्रमा शिशिर वाङदेल, राज थापा मगर, कविता आले, बुद्धि तामाङ र सुनील मगरलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
यस्तै रुकुम पूर्वमै गत जेठमा छायांकन सकिएको अर्को चलचित्र हो ‘खुस्मा’ । धीरज मगर र उपासनासिंह ठकुरीको शीर्ष भुमिका रहेको यो चलचित्रलाई अशोक थापाले निर्देशन गर्नुभएको हो । निर्मताका रुपमा वीरबहादुर लामा, चन्द्र भट्टचन, बेताने मगर र मानबहादुर धना मगर हुनुहुन्छ ।
तत्कालीन माओवादी सशस्त्र संघर्षताका मौलाएको प्रेस कथालाई देखाउन खोजिएको यो चलचित्रको अहिलेसम्म पोस्टर मात्र सार्वजनिक गरिएको छ । अगामी साता गीत सार्वजनिक गर्ने तयारी गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । ‘अहिले हामी पोस्ट प्रोडक्सनको काममा छौं,’ उहाँले भन्नुभयो, ‘अगामी साता पहिलो गीत बजारमा आउँछ । त्यसपछि क्रमश: टिजर र ट्रेलर सर्वजनिक गरेर प्रचारको कामलाई तीव्र बनाउँछौं ।’
करिब ७० प्रतिशत रुकुम पूर्वको मैकोट र आसपासमा छायांकन गरिएको ‘खुस्मा’को बाँकी छायांकनचाहिँ मनाङ र कास्की पोखराका विभिन्न स्थानमा गरिएको पनि निर्देशक थापाको भनाइ छ ।
‘घरज्वाइँ’ र ‘खुस्मा’ दुवै चलचित्रका निर्मनता, निर्देशक र कलाकार समेतले रुकुम पूर्वको मौलिकता र सौन्दर्यको प्रशंसा गरेका छन् । यो जिल्लालाई केन्द्र बनाएर ठुलो लगानीमा चलचित्र बनाइनु केवल कथाको माग मात्रै नभएर यहाँको सुन्दर प्रकृति, अर्ग्यानिक जीवनशैली र भाषा-संस्कृति नै भएको समान धारणा उनीहरुले व्यक्त गरेका छन् ।
सन् २०१२ मा प्रदर्शनमा आएर सातवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘लुम्बा’ र सन् २०२२ मा प्रदर्शनमा आएर १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘आग्रे (दी आइरन डिगर)’ डकुमेन्ट्री फिल्मको निर्देशन गरिसकेका अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’ उहाँको पहिलो चलचित्र हो ।
‘हामीले यसमा सारा मिहिनेत खर्चिएका छौं । यसकारण पनि सुरुदेखि प्रिमियर सोसम्म आइपुग्दा सकरात्मक प्रतिक्रिया आएको छ,’ निर्देशक मगरले भन्नुभयो, ‘चलचित्रले कति कमाउँछभन्दा पनि चलचित्र बनाउन खोजेको अनुसार बनाउन सकियो कि सकिएन र यसले के दियो भन्ने कुरा हाम्रा लागि महत्त्वपूर्ण छ ।’
त्यस्तै यसअघि ‘दी कोरियन ड्रिम’ नामक लघु चलचित्रको निर्देशन तथा चलचित्र ‘नीरफूल’को सह-निर्मताका रुपमा काम गर्नुभएका ‘खुस्मा’ का निर्देशक अशोक थापाको पनि निर्देशनमा यो डेभ्यु फिल्म हो । मगर जाति र रुकुम पूर्वको भूगोललाई केन्द्र बनाएर छायांकन गरिए पनि यो चलचित्रले सारा नेपालीको कथा भन्ने उहाँको दाबी छ ।
चलचित्र छायांकनका क्रममा रुकुम पूर्वको तकसेरालगायत ठाउँमा करिब एक महिना बिताउनुभएका ‘घरज्वाइँ’ का अभिनेता दयाहाङ राईले यहाँको सौन्दर्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । अभिनेत्री मिरुना मगरले पनि रुकुम पूर्वमा आएर यहाँको क्यारेक्टरमा अभिनय गर्न पाएकामा खुसी व्यक्त गर्दै रुकुम पूर्व चलचित्र छायांकनका लागि ‘भर्जिन ल्यान्ड’ भएको प्रतिक्रिया दिनुभयो ।
रुकुम पूर्वको मैकोटमा चलचित्र ‘खुस्मा’ छायांकन गरिँदाको दृश्य । तस्बिर : कान्तिपुर
चलचित्र ‘खुस्मा’ का नायक धीरज मगरको त जन्मथलो नै रुकुम पूर्व हो । पुथाउत्तरगंगाको उपल्लो शेरामा आफ्नो जन्मस्थान रहेको बताउँदै उहाँले आफू २ वर्षको हुँदा यहाँबाट आमासँग सहर गएको जनाउनुभयो । ‘आफ्नो जन्मथलोमा चलचित्रको नायक भएर आउन पाउँदा निकै खुसी लाग्यो,’ उहाँले भन्नुभयो, ‘आफ्नै ठाउँबारे सुनेको हो । तर आउन पाएको थिएनँ, चलचित्र गर्ने क्रममा यहाँ आएँ । जन्मस्थान त यति सुन्दर रहेछ । म धन्य भएँ ।’
संघीयतापछि साबिक रुकुम जिल्ला दुई भागमा विभाजन भएपश्चात् नयाँ जिल्लाका रुपमा कायम भएको रुकुम पूर्वलाई ‘कान्छो जिल्ला’ पनि भनिन्छ । यसरी ‘कान्छो’ भनिएपछि यहाँको भाषा, कला, संस्कृतिका कारण यो ‘जेठो जिल्ला’ भएको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुहुन्छ । ‘रुकुम पूर्वको सौन्दर्य अवर्णनीय छ । यसलाई संसारसामु पुर्याउन यसप्रकारका ठुला चलचित्र निर्माण हुनेले निकै ठुलो टेवा पुग्छ । यसलाई बढाउन सबैको हातेमालो जरुरी छ ।’