काठमाडौंमा जेठ १६ देखि किम्फको २१औं संस्करण, २२ देशका ६० चलचित्र प्रदर्शन गरिने

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा जेठ १६ देखि किम्फको २१औं संस्करण, २२ देशका ६० चलचित्र प्रदर्शन गरिने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण यही जेठ १६ देखि २० गतेसम्म हुने भएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा वृत्तचित्र, लघु तथा प्रयोगात्मक चलचित्र समावेश हुनेछन् ।

काठमाडौं महानगरपालिकाको सह-आयोजनामा हुने किम्फ २०२४ मा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ को नाराअन्तर्गत २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत नेपालको कथा उजागर गर्न स्वदेशी चलिचत्र प्रदर्शन हुने किम्फ फाउन्डेसनका अध्यक्ष रम्यता लिम्बू बताउनुहुन्छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको दी टाइगर्स नेस्टको एसिया प्रिमियरबाट महोत्सव सुरु हुनेछ । यो वृत्तचित्रको छायांकन नेपालमै गरिएको हो ।

एभरेस्ट रिभिजिटेड शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासका दुर्लभ तस्बीरहरुको प्रदर्शनी हुने भएको छ ।

किम्फ २०२४ को निर्णायक मण्डलमा निर्देशक निर्माता डिना मुफ्ती, मानवशास्त्री सुरेश ढकाल, चलचित्र सम्पादक रेजिना बत्स्की छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, १९ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनोट गर्नेछ ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कयामकलाई १५ सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.