काठमाडौं । बारा, चितवन र तनहुँका तीनवटै क्षेत्रको मतपरिणाम निर्वाचन आयोगले मंगलबारभित्रै घोषणा गरिसक्ने जनाएको छ । उपचुनावको औपचारिक नतिजा कस्तो आउला ? यो प्रश्नको जवाफ मतगणनापछि नै थाहा हुनेछ । तर, अन्तिम नतिजा नआउँदै एउटा राजनीतिक प्रश्न भने जन्मिसकेको छ- के यो उपचुनाव नेपालको आगामी राजनीतिलाई चिहाउने आँखीझ्याल बन्न सक्छ ?
यो विश्लेषणात्मक प्रश्नको उत्तर खोज्ने काम राजनीतिक दलका नेता, राजनीतिकर्मी र राजनीतिशास्त्रीहरुको हो । यहाँचाहिँ इतिहासमा भएका उपचुनावहरुको ‘ट्रेन्ड’ र यसको रोचक इतिहास हेरौं ।
किन हुन्छ उपचुनाव ?
नेपालमा विक्रम संवत २०१५ सालदेखि नै एउटै नेताले दुई क्षेत्रबाट चुनाव लड्ने चलन थियो । २०१५ सालको संसदीय चुनावमा बाराबाट कांग्रेस नेता सुवर्णशमशेर राणाले दुई क्षेत्रबाट चुनाव जितेका थिए ।
दुवै क्षेत्रमा जितेपछि एउटा सिट छाड्ने र त्यहाँ उपनिर्वाचन गर्ने चलन २०५६ सालसम्म चल्यो । तर, शीर्ष नेताहरुले आफ्नो जितलाई सुनिश्चित गर्न दुई ठाउँबाट चुनाव लड्ने प्रचलनलाई अहिलेको संविधान र कानुनले अनुमति दिएको छैन । अहिले अन्य कारणले खाली बनेका स्थानमा उपचुनाव हुने गरेको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा राजसहायप्रसाद यादव निर्वाचित भएपछि तनहुँ १ र बारा २ निर्वाचन क्षेत्र रिक्त बनेकाले त्यहाँ उपचुनाव भएको हो । चितवनमा चाहिँ रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि तीन क्षेत्रमा एकैपटक उपचुनाव भएको हो ।
हुन त २०७४ सालको चुनाव सकिएको तीन वर्षपछि ०७७ चैतमा माओवादीका सांसद टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी कारबाहीमा परेर सांसदबाट पदमुक्त बनेपछि अर्घाखाँची, रौतहट ३, कैलाली ३ र कैलाली ४ मा पनि उपचुनाव हुनुपर्ने थियो, तर निर्वाचन आयोगले चुनावै नगराई कार्यकाल गुजार्यो । पदरिक्त भएपछि कार्यकाल सकिन ६ महिनाभन्दा बढी समय बाँकी रहेमा उपनिर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ ।
विगतका उपचुनावहरुको परिणाम हेर्दा प्रायः अघिल्लोपटक जितेका दलहरुले नै पुनः जित्ने गरेको पाइन्छ । २०४८ सालमा दुई स्थानमा जितेर मदन भण्डारीले छाडेको काठमाडौं ५ र गिरिजा प्रसाद कोइरालाले जितेर छाडेको सुनसरी ३ मा क्रमशः एमाले र कांग्रेसकै उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र प्रकाश कोइरालाले जिते ।
मदन भण्डारीको मृत्युपछि २०५० सालमा भएको काठमाडौं १ को उपचुनावमा एमालेकै विद्या भण्डारीले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराइन् ।
उता, झापा क्षेत्र नम्बर १ मा भने एमालेका द्रोणप्रसाद आचार्यको निधनपछि २०५० सालमा भएको उपचुनावमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले एमालेको सिट खोसे । ०४८ मा एमालेले जितेको सो सिटमा एमालेका लीला उदासी पराजित भए ।
काठमाडौं १ मा उपचुनाव जितेकी विद्यादेवी भण्डारी करिब १ वर्ष मात्र सांसद रहिन् । किनभने, ०५१ सालमै मध्यावधि चुनाव भयो । तर, काठमाडौं १ मा फेरि ०५३ सालमा पनि उपनिर्वाचन भयो ।
सुनसरी र काठमाडौं गरी दुई सिट जितेका एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले काठमाडौं क्षेत्र नं १ छाडेपछि भएको उपचुनावमा एमालेकै नारायण ढकाल विजयी बने । गिरिजाले छाडेको सुनसरी ५ बाट ०५३ माघको उपनिर्वाचनमा एमालेका जगदीश कुसियतले जिते ।
त्यस्तै रुपन्देही २ का एमाले सांसद धनपति उपाध्यायको मृत्युपछि भएको उपचुनावमा एमालेकै घनश्याम भुसालले जिते ।
रौतहट २ मा कांग्रेस सांसद सेख इद्रिसको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसकै मोहमद अफताव आलमले जिते । बैतडीका दुवै क्षेत्रमा जितेपछि लोकेन्द्र बहादुर चन्दले छाडेको क्षेत्र नम्बर १ कांग्रेसका केशरबहादुर चन्द विजयी भए ।
२०५६ सालको चुनावमा एमालेका केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ र ६ बाट दुई सिट जितेका थिए । चुनावपछि उनले १७ मतले जितेको २ नम्बर क्षेत्र कायमै राखेर ६ नम्बर छाडे, जहाँबाट उपचुनावमा कांग्रेसका डा. गोपालचन्द्र भट्टराईले जिते ।
यसरी अहिलेसम्म एका उपचुनावहरुको तथ्य हेर्दा मूलतः पहिले जितेका क्षेत्रहरु सोही दलले नै जित्ने तर, यदाकदा अर्को दलले सिट खोज्ने गरेको पाइन्छ ।
२०८०वैशाख १० मा भएको उपचुनावमा पनि यस्तै जोगाउने र खोस्नेबीचको रस्साकसी देखिएको छ ।
हाम्रा पुराना सामग्री :