ओखलढुङ्गा । ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नम्बर १ (१) मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन् । उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अम्विर बाबु गुरुङलाई हराउँदै प्रदेशसभा सदस्य चुनिएका हुन् । विजयी सुनुवारले १४ हजार ९ सय १६ मत पाएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत मात्र पाए ।
ओखलढुङ्गाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का कूल मतदाता ५६ हजार ७ सय ३३ मध्ये ३१ हजार ४ सय ६३ मत खसेको थियो । सुनुवारका प्रतिस्पर्धी गुरुङ नेकपा एमालेका प्रदेशस्तरीय नेता तथा प्रदेश १ सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत हुन् ।
को हुन् प्रदीप ?
खिजिदेम्बा गाउँपालिका ५, खिजिफलाँटेका प्रदीपकुमार सुनुवार २०२७ वैशाख १७ बुवा शान्त बहादुर र आमा फूलमाया सुनुवारको जेठो छोरोको रूपमा जन्मिएका हुन् । उनी २०३९ सालमा अखिलको विद्यार्थीबाट राजनीतिमा आबद्ध भएका थिए । २०४२ मा भने सुनुवार नेपाल विद्यार्थी सङ्घ दोलखाको जिरीमा इकाई कमिटीमा रही काम गरे । २०४३ सालमा काँग्रेस निकट युवक सङ्गठनको गाउँ सभापति बनेका प्रदीप ४८ मा काँग्रेसको क्षेत्रीय समिति सदस्य समेत भए ।
२०४९ मा प्रदीपले नेपाली काँग्रेसको जिल्ला सदस्य हुने मौका पाए । उनी नवौँ महाधिवेशन २०५२ देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिको रूपमा पार्टीमा निर्वाचित पनि हुँदै आए । २०५१ सालमा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएका उनी २०५४ मा खिजिफलाँटे गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए ।
पार्टीको नवौँ महाधिवेशनबाट जिल्ला समितिको सहसचिव, १० औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका प्रदीप पार्टी विभाजन भई काँग्रेस प्रजातान्त्रिक भएपछि पार्टीको जिल्ला उपसभापति बन्न पुगे । पार्टी एकीकरण भए पछि पुनः उनी जिल्ला उपसभापति भए । २०६२/०६३ को जनआन्दोलनमा तरुण दलको अञ्चल संयोजक भई आन्दोलनमा सहभागी हुँदा पटक पटक पक्राउ परि हिरासतमा समेत परेका उनी पार्टी विभाजनदेखि नै देउवा समूहमा छन् । ११ औँ र १२ औँ महाधिवेशनबाट पनि प्रदीप दुई पटक जिल्ला सभापति बन्ने अवसर पाए । र १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।
२०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट उम्मेदवार बने पनि काँग्रेसकै बागी उम्मेदवारका कारण पराजित भएका थिए । यस पटक भने उनले जित हात पारेका छन् ।