शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ : प्रधानमन्त्री शाह

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक भेट गरी उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताउनुभएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिनुभयो । 

सो अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताउनु भएको थियो । आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरूको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र, गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ ? त्यो कुरा पनि आएको छ । यी दुई वटा कुराहरू महत्वपूर्ण रूपमा आएका छन् ।’

बैठकमा प्रधानमन्त्री शाहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभएको थियो । धनघढी–दीपायल द्रुतमार्ग, अति जरूरी सडक, खानेपानीलगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री शाहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताउनु भयो ।

प्रधानमन्त्री शाहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरूसँगका भेटवार्तालाई निरन्तरता दिइरहनुभएको हो । भेटमा उहाँले अति जरूरी जनचासाको योजनाहरूलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गर्नुभएको भेटमा सहभागी सांसदहरूले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.