डा. आरजु राणासँग जोडिएका समाचार तथ्यहीन भएको यूलेन्स स्कुलको दाबी

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
डा. आरजु राणासँग जोडिएका समाचार तथ्यहीन भएको यूलेन्स स्कुलको दाबी

काठमाडौं । गत शनिबार विभिन्न पत्रपत्रिका र युट्युब च्यानलमार्फत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरूवा प्रकरणमा यूलेन्स स्कुल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माननीय डा. आरजु राणा देउवाको नाम जोडिएको समाचार सार्वजनिक भएपछि, यूलेन्स स्कुलले गम्भीर आपत्ति जनाएको छ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारहरू भ्रामक, कपोलकल्पित र तथ्यहीन रहेको बताइएको छ। विज्ञप्तिअनुसार, विभागीय अनुगमनका क्रममा मागिएका सम्पूर्ण कागजात तोकिएको समयमा प्रस्तुत गरिए पनि विद्यालयलाई कुनै जरिवाना वा कारबाहीबारे जानकारी दिइएको थिएन।

यस्तै, विद्यालयको स्वामित्वसम्बन्धी अभिव्यक्तिहरू पनि असत्य भएको विद्यालयले जनाएको छ। यूलेन्स स्कुल यूलेन्स एजुकेशन फाउण्डेशनअन्तर्गत सञ्चालित गैरनाफामुखी संस्था भएको र डा. देउवाले अवैतनिक स्वयंसेवी अध्यक्षको रूपमा मात्र सेवा दिँदै आएको प्रष्ट पारिएको छ।

विद्यालय शुल्क संरचना ललितपुर महानगरपालिकाको शिक्षा विभाग र अभिभावकहरूको सहभागितामा पारदर्शी प्रक्रियामार्फत निर्धारण हुने गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, विदेशी पाठ्यक्रम सञ्चालनसम्बन्धी आरोपसमेत असत्य भएको प्रष्ट पार्दै विद्यालयले शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरेर कक्षा १२ सम्मका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यूलेन्स स्कुल नेपालमै पहिलोपटक सन् २००९ देखि आधिकारिक स्वीकृत आइबी डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको हो।

विज्ञप्तिमा यूलेन्स एजुकेशन फाउण्डेशनले नेपाल सरकारका सबै ऐन, कानुन र कर नीतिको पालना गर्दै आएको र सामाजिक सुरक्षा कोषमा योगदानका आधारमा सरकारबाट सम्मानित भइसकेको पनि उल्लेख गरिएको छ।

विद्यालयले संचार गृह, संचारकर्मी र युट्युबकर्मीलाई तथ्यरहित समाचार सम्प्रेषण नगरी सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न आग्रह गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित