रोल्पा । ठेकेदारको लापरबाही र जिल्ला समन्वय समितिको बेवास्ताका कारण १५ वर्षसम्म पनि जलजला बहुमुखी क्याम्पस रोल्पाको भवन निर्माण पूरा हुन सकेको छैन ।
क्याम्पस प्रशासनले ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना बनाउँदै आएको छ । भवन निर्माण अलपत्र पर्दा क्याम्पसमा पठनपाठन सञ्चालनमा समस्या छ। भवनको पेटी बनाउनै बाँकी छ भने सम्झौताअनुसार ठेकेदारले डेस्कबेञ्च तथा कम्प्युटरलगायतका सामग्री अझै ल्याएको छैन ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस जलजला बहुमखी क्याम्पसको भवन निर्माणको काम १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समिति रोल्पाले ठेक्का लगाएको थियो ।
१८ महिनामा सक्ने गरी दिवा निर्माण सेवा/ड्रागन बिल्डर्स प्रालि जेभी ललितपुरले २०६७ भदौ ५ गते तीन करोड ९३ लाखमा ठेक्का लिएको थियो । भवन निर्माणका लागि पटकपटक म्याद थप गर्दा पनि निर्माण पूरा भएको छैन । भवन नहुँदा क्याम्पसको पठनपाठन सञ्चालनमा समस्या छ ।
ठेकेदारले भवन निर्माण अलपत्र अवस्थामा छोडेको मात्रै छैन सम्झौताअनुसार २२ थान कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिनलगायतका सामान पनि खरिद गरेको छैन । निर्माण भएका संरचनासमेत जीर्ण भइसकेका छन् ।
भवनमा पानी चुहिनुका साथै झ्यालका सिसासमेत फुटाइएका छन् । यसैबीच एक महिनाभित्र भवन हस्तान्तरण नगरे आन्दोलन गर्ने चेतावनी स्वतन्त्र विद्यार्थी युनियनले दिएको छ ।
क्याम्पस प्रशासनले ठेकेकारलाई समयमै काम सम्पन्न गरी हस्तान्तरण गर्न गरेको बारम्बारको आग्रह अटेरी गरिरहेको छ । अझै ३० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । त्यसो त क्याम्पस भवन निर्माणको ठेक्का लगाउने तत्कालीन जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समिति रोल्पाले भवन निर्माणमा कुनै पनि तदारुकता देखाएको छैन ।
उल्टै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो पटकपटक म्याद थप गर्दै आइरहेको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाकै पहिलो क्याम्पस हो । यस क्याम्पसले ४ वर्षदेखि स्नातकोत्तर पढाइ सञ्चालन गरेको छ । ठेकेदार कम्पनीले ३ करोड ९९ लाख ७३ हजारभन्दा बढी रकम भुक्तानी पाइसकेको छ ।