काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समाराेह जेठ ३० मा हुने

एक हजार १२९ जना दीक्षित हुँदै
जेष्ठ २८, २०८२ |पुजन धिताल
काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समाराेह जेठ ३० मा हुने

काभ्रे । काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त (दोस्रो चरण) यहि जेठ ३० गते शुक्रबार आयोजना हुने भएको छ । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा बिहान ११ बजे सुरू हुने विश्वविद्यालयले जनाएको छ।

अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी. कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको समुपस्थितिमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । 

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनुहुनेछ भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नुहुनेछ ।

सो समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका ११० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् । 

दीक्षित हुनेमध्ये दिद्यार्थीमध्ये पीएचडी, डीएम र एमसीएच तहका ३२ जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् । तीमध्ये विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना छन्।

तीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम सम्ममा काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना दीक्षित भइसकेकाे बताइएकाे छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।