चितवन । गर्मी अत्यधिक बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएको छ । बुधबारदेखि लागू हुने गरी शुक्रबारसम्म तीन दिन विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।
महानगरले यस अविधमा आफ्ना बालबालिकाहरूलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी तथा पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता काममा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन अभिभावकहरूसमक्ष अनुरोध समेत गरेको छ ।
केही दिनदेखि अत्यधिक गर्मीका कारण चितवनको जनजीवन प्रभावित हुँदै गइरहेको र बालबालिकाहरूलाई समेत पठनपाठनमा समस्या भइरहेको गुनासो आएपछि यो निर्णय गरिएको आचार्यले बताउनुभयो ।
महानगरको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार प्रतिकूल मौसमको अवस्था हेरी ४ दिन बिदा दिन सकिने व्यवस्था अनुसार सोही बिदामा समायोजन गर्ने गरी बिदा दिइएको आचार्यले बताउनुभयो ।
चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो ।