अनौपचारिक शिक्षालाई औपचारिकसँग जोड्दै सरकार, अब ज्ञान र सीपका आधारमा शैक्षिक प्रमाणपत्र

फाल्गुन २९, २०७९ |नारायण किलम्बू
अनौपचारिक शिक्षालाई औपचारिकसँग जोड्दै सरकार, अब ज्ञान र सीपका आधारमा शैक्षिक प्रमाणपत्र

काठमाडौं । तपाईँसँग ज्ञान र सीप छ, तर कुनै औपचारिक शिक्षाको प्रमाणपत्र छैन भने अब चिन्ता नलिनुहोस् । १५ वर्ष उमेरमाथिका व्यक्तिलाई ज्ञान र सीपको परीक्षणमा पास भए औपचारिक शिक्षा सरहको शैक्षिक प्रमाणपत्र दिइने भएको छ । अनौपचारिक शिक्षालाई औपचारिक शिक्षासँग जोड्ने गरी सरकारले राष्ट्रिय योग्यता प्रारूप कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । यसमा विद्यालय शिक्षाको ५ तहमा शैक्षिक प्रमाणपत्र दिने व्यवस्था छ ।

विद्यालय शिक्षा हासिल गर्न नपाएका वा वञ्चित भएका १५ वर्ष उमेर माथिकालाई लक्षित गरी सरकारले अनौपचारिक शिक्षाको माध्यमबाट औपचारिक शिक्षा सरहको शैक्षिक योग्यताको समकक्षता प्रदान गर्ने भएको छ । स्व:अध्ययन अर्थात् कार्य थलोमा आधारित ज्ञान र सिप लिएका तर आधिकारिकता प्रमाणीकरण नभएका व्यक्तिको जाँच लिई तहगतरुपमा समकक्षता दिने व्यवस्था मिलाइएको हो । भाषा, सञ्चार, व्यावहारिक समस्या समाधान, नागरिक चेतना, जीवन जगत्, जस्ता सिकाइ क्षेत्रको दक्षता परीक्षण गरी समकक्षता दिन लागिएको हो ।

समकक्षता परीक्षण तथा प्रमाणीकरणका लागि समितिसमेत गठन गरिएको छ । अनौपचारिक शिक्षालाई पाँच तहमा विभाजन गरिएको छ । कक्षा ३ बराबर तह १, कक्षा ५ बराबर तह २, तह ३ कक्षा–८ , तह–४ कक्षा १० र १२ कक्षा बराबर तह ५ हुने गरी अनौपचारिक शिक्षाका तहमा विभाजन गरिएको हो । तह १ र २ को समकक्षता सामुदायिक सिकाइ केन्द्रले नै दिन सक्नेछन् । 

त्यस्तै स्थानीय तहलाई तह ३, प्रदेशलाई तह ४ र संघीय सरकारलाई तह ५ को समकक्षता दिने जिम्मा दिइएको छ । शैक्षिक प्रमाणपत्रबाट वञ्चित रहेकालाई लक्षित गरेर सरकारले अनौपचारिक शिक्षाका माध्यमबाट औपचारिक शिक्षामा जोडिने गरी योग्यता परीक्षणको कार्यविधिसमेत बनाइसकेको छ । परीक्षणका क्रममा ३ अंक अर्थात् ५० प्रतिशत नम्बर ल्याए उत्तीर्ण हुनेले प्रमाणपत्र पाउने छन् ।

सरकारी तथ्यांकअनुसार १५ वर्षमाथिका ३० देखि ३५ प्रतिशत युवा औपचारिक शिक्षाबाट वञ्चित छन् । ज्ञान र सिप परीक्षण गरेर औपचारिक शिक्षा सरहको शैक्षिक प्रमाणपत्र पाउने व्यवस्थाले उनीहरूमा हौसला मिलेको छ ।

यस्तो शिक्षाको गुणस्तर सुनिश्चित गर्न मापदण्डसमेत बनाइएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।