डोटी । सामुदायिक विद्यालयमा परम्परागत शिक्षण विधीले गुणस्तर खस्कँदै गएको गुनासो आइरहेका बेला डोटीमा भने केही विद्यालयले प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सुरु गरेका छन् । प्रोजेक्टरको प्रयोग गरी पढाउन सुरु गरेका यस्ता विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमासमेत सुधार आउन थालेको छ ।
डोटीका तीन वटा सामुदायिक विद्यालयले आधुनिक प्रविधिको प्रयोग गरी पढाउन सुरु गरेका छन् । दिपायल सिलगढी नगरपालिका-८ स्थित चौखान आधारभूत विद्यालय र सुनादेवी माध्यमिक विद्यालय तथा पूर्वीचौकी गाउँपालिका-७ को मष्टामाण्डौ माविले प्रोजेक्टरबाट पढाउन सुरु गरेका हुन् ।
दुर्गममा रहेका यी विद्यालयले बालकक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई प्रोजेक्टरबाट पढाउदा विद्यार्थीहरुसमेत पढाइमा रुची देखाइरहेका छन् ।
चौखान आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज साउदले विद्यार्थीहरु रमाइ-रमाइ पढ्ने वातावरण बनेको भन्दै उत्साह व्यक्त गरे ।
यस्तै, सुनादेवी माविका प्रधानाध्यापक कृष्णबहादुर कडायतले भने, ‘किताबमा सीमित कुरामात्रै छन् । नयाँ परिवर्तित सबै कुरा छैनन् । तर प्रोजेक्टरमा हामीले के गरेका छौँ भने इन्टरनेटबाट खोजेर नयाँ नयाँ कुराहरु राखेका हुन्छौँ ।’
प्रविधिको प्रयोगबाट सिकाइ उपलब्धीमा सुधार देखिएपछि अन्य विद्यालयले समेत यसलाई लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ । तर शैशिक सुधारका लागि स्थानीय तहका जनप्रतिनिधिले आवश्यक बजेट विनियोजन गर्न भने सकेका छैनन् ।
विभिन्न संघसंस्थाको सहयोगमा नमुनाका रूपमा भए पनि सीमिति विद्यालयमा पठनपाठमा प्रविधिको प्रयोग भित्रिनु राम्रो हो । तर दक्ष जनशक्ति, ऊर्जाको नियमित आपूर्तिलगायतका कुराहरूमा समस्या नदेखिएमा मात्रै यो दिगो रहन्छ । त्यसैले दीर्घकालीन योजना बनाएर प्रविधिमैत्री पठन संस्कृति सबै विद्यालयले अपनाउन जरुरी छ ।