बृहत्तर जनकपुर विकास परिषद् विवादकाे घेरामा : कर्मचारी २६ महिनादेखि तलबविहीन

वैशाख ८, २०८३ |अनिल मिश्र
बृहत्तर जनकपुर विकास परिषद् विवादकाे घेरामा : कर्मचारी २६ महिनादेखि तलबविहीन

धनुषा । विवादै विवादका कारण बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीहरुले विगत २६ महिनादेखि तलब भत्ता पाएको छैन ।

धनुषा, महोत्तरीसहितका जिल्लाहरूमा रहेका मठ मन्दिरलगायत मिथिला मध्यमा परिक्रमा क्षेत्रभित्र रहेका ऐतिहासिक पुरातात्विक र सांस्कृतिक स्थलहरूको संरक्षण तथा विकास गर्न २०५५ सलमा स्थापना भएको परिषद्‌मा विवादै विवाद र अदालती मुद्दा मामिलाका कारण कर्मचारीहरु विगत २६ महिनादेखि तलब भत्ता पाएका छैनन। 

लामो समयदेखि तलब भत्ता नपाएपछि कर्मचारीलाई घरपरिवारको गुजारा चलाउनै मुस्किल भएको छ। २०४७ सालमा स्थापना भएको परिषद्‌मा कार्यकारी निर्देशकदेखि कार्यालय सहयोगीसम्म कार्यरत २३ जनामध्ये भ्रष्टाचारको आरोपमा चारजना निलम्बनमा परेका छन् भने तीनजना सेवा निबृत्त भइसकेका छन्। 

बृहतर जनकपुर विकास परिषद्‌मा नियम विपरीत परिषद्को खाता सञ्चालन, अध्यक्ष र कार्यकारी निर्देशकबीचको विवाद, अदालतमा मुद्दाहरु विचाराधीन, नियमविपरीत कर्मचारी भर्ना, सामान खरिदमा भ्रष्टाचारजस्ता बेथितिको चाङ्ग नै रहेका छन्। 

कार्यकारी निर्देशक वैद्यनाथ पासवानको हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरी बहालवाला अध्यक्ष शितल साहलाई पक्राउ गरी मुद्दासमेत चलाएको थियो। त्यसैगरी मुल्यांकन भन्दा २१ लाख बढीमा दुईवटा घुम्ती शौचालय खरिद गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले हालै परिषद्का अर्का पूर्वअध्यक्ष शालीग्राम सिंहलगायत ६ जनालाई दोषी ठहर गरेको छ । 

तलब र नियुत्तिका विषयमा कर्मचारी र अध्यक्षबीच पटक पटक विवाद हुँदै आएका कारण ऐतिहासिक सम्पदाको संरक्षण र सम्बर्द्धनका लागि २७ वर्षअघि स्थापना भएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अस्तव्यस्त बनेको छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।