
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ ।
पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आए पनि बुधबार भने एकै दिनमा साढे १४ हजार मूल्य बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६ सय रूपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५ सय रूपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि बुधबार वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ४१५ रूपैयाँले बढेर ४ हजार ९२० रूपैयाँ पुगेको छ । यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।