इलाममा गोल्डेन किवी अभियान : गुणस्तर सुधारसँगै बजारको खोजी

चैत्र ८, २०८२ |विप्लव भट्टराई
इलाममा गोल्डेन किवी अभियान : गुणस्तर सुधारसँगै बजारको खोजी

इलाम । किवी खेतीमा अग्रणी इलाममा गुणस्तर र बजार सुधारका लागि कृषक आफैंले प्रयास थालेका छन् । 

योसंगै किवी उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ । उत्पादन बढ्दै गए पनि राम्रो बजार पाउन नसकेपछि इलामका कृषकले बोट सुधार अभियान थालेका हुन् । यसअघि रहेका हेवार्ड, एलिसान, मन्टी, ब्रुनो जातका किवीको बिरूवालाई ग्राफ्टिङ गरेर गोल्डेन बनाउन थालिएको हो । 

गोल्डेन किवीको उत्पादन गुणस्तरीय र धेरै हुने भएकाले आम्दानी बढाउने उदेश्यले अधिकांश कृषकले गोल्डेन बनाउन थालेका हुन् । किवीको उत्पादन सन्दकपुुर गाउँपालिकामा धेरै छ । अहिले कात्तिक मंसिर महिनामा एकै पटक उत्पादन बजारमा आउने र कम मूल्यमा बेच्नु पर्ने समस्या छ । 

गोल्डेन किवी असोजमा नै पाक्ने अनि ठूलो र स्वादिलो हुने भएकाले दशैं तिहारलगायत चाडवाडको बेला राम्रो मूल्यमा बिक्री गर्न सकिने कृषकको भनाइ छ । इलामको १३ सय मिटर माथिको उचाइमा किवी खेती भइरहेको छ । कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी बगान सुधार, माच व्यवस्थापन र खेती विस्तारकालागि कार्यक्रम गर्दै आएको छ ।

एकै कृषकले सय रोपनीसम्म जमिनमा किवी खेती गरेका छन् । ६ सय ४२ हेक्टर क्षेत्रफलमा किवी खेती हुने इलामको वाषिर्क उत्पादन १८ हजार मेट्रिक टन छ । यहााको माटोमा राम्ररी फस्टाएको किवी खेतीमा कृषकस्तरबाट लगानी ठूलो छ । तर, बजार व्यवस्थापन, वगान सुधार र खेती विस्तारका लागि दरिलो भरथेकको पर्खामा कृषक छन् ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।