
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन व्यापक सुधार योजना अघि सारेको छ ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत स्वास्थ्य, शिक्षा र मानव विकास क्षेत्रको बुँदा नं ८५ अनुसार सुधार कार्य अघि बढाइएको हो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवामा संरचनात्मक सुधार ल्याउने उद्देश्यसहित १३ बुँदे निर्णय गरेको छ ।
प्रतिष्ठानमा विगतदेखि सञ्चालनमा रहेको १० प्रतिशत निःशुल्क शय्या सेवालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीको अद्यावधिक विवरण 'रियल टाइम लाइभ ड्यासबोर्ड' मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिने निर्णय गरेको छ ।
त्यसैगरी प्रतिष्ठानका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि दैनिक साँढे आठ बजेभन्दा ढिला आउने तथा ४: ४५ भन्दा छिटो जानेका लागि गयल हुने व्यवस्था गरेको छ ।