
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।
मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताउनुभएको हो । खनालकाअनुसार सूचनाको हकसम्बन्धी कानुनले मात्र नभइ विभिन्न मापदण्ड र कानुनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेका छन् । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उहाँले बताउनु भयो ।
पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताउनु भयो । खनालकाअनुसार धातु बजारमा सुन-चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ ।
खनालले नेपालका लेखा मापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताउनुभयो । तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे-नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उहाँको टिप्पणी थियो ।
खनालकाअनुसार समान अवसरको व्यवस्था विश्वभर प्रचलित भए पनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन सकेको छैन । नागरिकसम्म सही सूचना पुर्याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उहाँको भनाइ छ ।