
काठमाडौं । बुढानीलकण्ठको सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले तीन दिने सडक महोत्सव आयोजना गरेको छ ।
धार्मिक तथा साँस्कृतिक रूपमा समेत प्रसिद्ध बुढानीलकण्ठ नगरको मौलिक कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उदेश्यले बुढानीलकण्ठ नगरपालिकाले सडक महोत्सव गरेको हो । शुक्रबारदेखि सुरु भएको महोत्सवअन्तर्गत शनिबारमात्रै ५० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिका खानाका परिकार, हस्तकला तथा घरेलु उत्पादनका सामान प्रदर्शनीमा राखिएका छन् । महोत्सवबाट आन्तरिक पर्यटन प्रवद्धनमा टेवा पुग्ने दाबी आयोजकको छ ।
सडक महोत्सवलाई संस्कृति, पर्यटन र स्थानीय स्वादको संगमको रुपमा लिइएको बुढानीलकण्ठ नगरपालिकाले जनाएको छ ।