करिब ६ महिनापछि रसुवागढी नाका पुनः सञ्चालनमा

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
करिब ६ महिनापछि रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा । गत असार २४ गते लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि बन्द भएको रसुवागढी नाका करिब ६ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

लेन्दे खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएपछि बिहीबारदेखि नाका पूर्णरूपमा सञ्चालनमा आएको हो । गत असार २४ गते चीनतर्फको लेन्दे खोलामा आएको बाढीले नेपाल-चीन व्यापारिक मार्गअन्तर्गत रहेको मितेरी पुल बगाउँदा दुई देशबीचको आवागमन तथा व्यापार छ महिनादेखि पूर्णरूपमा अवरूद्ध भएको थियो । उक्त स्थानमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बेलीब्रिज निर्माण गरिएको हो ।

नाका खुलेसँगै बिहीबार र शुक्रबार दुई दिनको अवधिमा सामान बोकेका ५४ वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५७ वटा खाली कन्टेनर सामान लिन चीनतर्फ गएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयाे ।

नाका पुनः सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । विशेष गरी टिमुरे क्षेत्रमा व्यापारी तथा व्यवसायीहरूको चहलपहल बढेको छ । हाल नाकाबाट स्याउ, ओखर तथा रेडिमेड कपडा नेपाल भित्रिएका छन् । रसुवागढी नाका बन्द रहेकै अवधिमा (पुस महिनासहित) करिब २१ अर्ब रूपैयाँ राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.