
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारलाई आग्रह गरेको छ ।
महासंघले ती घटनाबारे जाहेरी नै नलिइएको गुनासो सदस्यहरूबाट आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुनेसमेत उल्लेख गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथिको कारवाहीमा उदासीनता देखिएकाले लगानीको वातावरणमा गम्भीर चुनौती सिर्जना भएको जनाएको छ ।
महासंघका पदाधिकारी, समिति तथा फोरमका सभापतिहरूसहितको छलफलमा महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभइ स्थायित्व नहुने, स्थायित्व नभइ उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने भएकाले व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य शर्त भएको बताउनुभयो ।