ताेडफाेड र आगजनीकाे असर : ३० प्रतिशत होटल बुकिङ रद्द

आश्विन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
ताेडफाेड र आगजनीकाे असर : ३० प्रतिशत होटल बुकिङ रद्द

काठमाडौं । मुलुकभर विकसित पछिल्लो घटनाक्रमको असर पर्यटन क्षेत्रमा परेको छ ।

भदौ २३ र २४ गतेको प्रदर्शन, होटल क्षेत्रमा भएको आक्रमण तथा आगजनी र कर्फ्युका कारण झन्डै ३० प्रतिशत होटल बुकिङ रद्द भएको होटल संघले जनाएको हो । बढी पर्यटक आउने अमेरिका, क्यानडालगायतका देशले अहिलेको अवस्थामा सुरक्षा समस्या आउन सक्ने भन्दै नेपालका लागि ट्राभल एडभाइजरी गरेपछि धमाधम बुकिङ रद्द भएका हुन् । 

काठमाडौंमा मात्रै हिल्टनसहित आधा दर्जन होटलमा आक्रमण भएको होटल संघको तथ्यांक छ । यद्यपि होटल तथा पर्यटनसँग सम्वन्धित व्यवसायीले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरिरहेको बताएका छन् । नेपाल सामान्य अवस्थामा फर्किएको सन्देश विदेशस्थित नेपाली दूतावासबाट समेत जारी गर्न व्यवसायीले माग गरेका छन् ।

भदौ-असोज महिनामा नेपालमा बढी पर्यटक आउने गर्छन् । मुख्य पर्यटकीय सिजनमै आन्दोलन भएपछि पर्यटन क्षेत्र प्रभावित भएको हो । अगष्ट महिनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमन गत वर्षको भन्दा २२ प्रतिशतले बढेको थियो । 

पर्यटन बोर्डकाअनुसार अगष्ट महिनामा मात्र ८८ हजार ६ सय ८० पर्यटक आएका थिए । नेपालमा कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको हिस्सा ६ दशमलब ६ प्रतिशत रहेको छ । यसैगरी आन्दोलनकै कारण क्याथे प्यासिफक एयरलाइन्सले १५ दिनका लागि नेपाल उडान बन्द गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.