काठमाडौं । जेन-जी आन्दोलनका कारण केही दिन असहज स्थिती पैदा भएपनि हाल होटेल, रेस्टुरेण्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका छन् ।
पहिलेकै अवस्थामा फर्किएसँगै दशैँ, तिहारको बेला पर्यटन क्षेत्र चयालमान हुने देखिएको छ । नेपाल होटेल संघ-हानका अध्यक्ष विनायक शाहले पनि मुलुकको पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको र अब फेरि यो क्षेत्र माथि उठ्ने बताउनुभएको छ ।
शाहकाअनुसार सरकारले पनि पर्यटन क्षेत्रलाई पूर्ण साथ दिएको छ र अब पर्यटकले बुकिङ रद्द गर्नुपर्ने कुनै कारण छैन । नेपाल आउने पर्यटकलाई उनीहरूले खोजेको सेवा दिन पर्यटन क्षेत्रका सबै पक्ष तयार रहेको उहाँले बताउनु भएको छ ।
अहिले चाडपर्वको बेला भएकाले पनि नेपालमा पर्यटक आउँदा धेरै रमाइलो गरेर जान सक्ने उहाँले बताउनु भयो । शाहकाअनुसार नेपाल आउने पर्यटकका लागि लक्षित गरेर विभिन्न चाडपर्वलक्षित प्याकेजहरू समेत ल्याउने तयारी भइरहेको छ । खासगरी भारत र चीनबाट आउने पर्यटकलाई अझ आकर्षित गर्न नयाँ योजना र स्किमहरू तयार भइरहेको उहाँकाे भनाइ छ ।
अध्यक्ष शाहकाअनुसार अहिले नेपालका होटलहरूको क्षमता वार्षिक रूपमा ३५/३६ लाख पर्यटकलाई सेवा दिन सक्नेछ । ती पर्यटकले विश्वस्तरको सुविधा नेपालमै पाउन सक्छन् । तर अहिले नेपालमा १२ लाख मात्रै पर्यटक आउने गरिरहेका छन् । अब यो पर्यटकको संख्यालाई बढाउन जरूरी छ ।
पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट अर्बौं लगानीमा बनाइएकाले तिनको समेत उपयोग गरेर पर्यटक भित्राउन सक्नुपर्ने शाहले बताउनु भयो । पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति र साझेदारहरूको सहयोग र माया समेत महत्वपूर्ण भएको उहाँको भनाइ छ ।