काे हुन् अर्थमन्त्री बनेका रामेश्वर खनाल ?

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
काे हुन् अर्थमन्त्री बनेका रामेश्वर खनाल ?

काठमाडौं । रामेश्वर खनाल नेपालमा जेन-जी आन्दोलनबाट बनेको सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्, २०८२ को अर्थमन्त्री बन्नु भएको छ । 

उहाँ पूर्वअर्थसचिव समेत हुनुहुन्छ । अर्थ प्रशासनको लामो अनुभव भएका खनालले सचिवबाट राजीनामा दिएर नेपाली अर्थतन्त्रकै विषयमा अध्ययन र अनुसन्धानमा सक्रिय रहनु भएको थियो । 

खनालको नेतृत्वमा निवर्तमान सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग समेत गठन गरेको थियो। उक्त आयोगले नेपाली अर्थतन्त्रमा सुधारको रोडम्यापसहितको प्रतिवेदन दिएको थियो।

नीति तथा निर्णयमाथि स्पष्ट र तथ्यआधारित टिप्पणी गर्ने उहाँ हालका चर्चित अर्थशास्त्रीमात्र होइन 'पोलिसी थिंक ट्यांक'का रूपमा नै स्थापित हुनुहुन्छ । लामो समयको प्रशासनिक अनुभव र अध्ययन-अनुसन्धानमा जोडिएका खनालको विश्लेषणलाई सरकारदेखि अन्तरसरकारी र बहुपक्षीय निकायले समेत आधार मानेर अघि बढ्ने गरेका छन्।

२०१३ साल असार २ गते पाल्पा तानसेनमा जन्मिनुभएका खनाल बाल्यकालदेखि नै राम्रा विद्यार्थी मानिनुहुन्थ्यो । परीक्षा आउन १७ दिन बाँकी छँदै पर्वतको फलेबासस्थित विद्यालयमा एकैपटक तीन कक्षामा भर्ना भएर प्रथम स्थान ल्याउनुभएका उहाँले पछि तानसेनमा निरन्तर उत्कृष्टता कायम राख्नु भयो। 

विद्यार्थी जीवनमा नेतृत्व र सामाजिक गतिविधिमा सक्रिय रहँदै उहाँले स्नातकसम्म दोस्रो र स्नातकोत्तरमा तेस्रो स्थानमा रहँदै शैक्षिक उपलब्धि हासिल गर्नुभएको थियो ।२०७६ चैतसम्म अर्थ मन्त्रालयका सचिव रहेका खनाल तत्कालीन समयमा विषयगत ज्ञान, निर्णय क्षमता र दुरदृष्टिका कारण चर्चामा रहनु हुन्थ्यो । 

जटिल समस्या समाधान गर्ने उनी तत्कालीन प्रशासकहरूमध्ये सबैभन्दा विवेकशील मानिनु हुन्थ्यो । अर्थप्रशासनमै लामो समय काम गरेर प्रशासन बुझेका खनाल नेपालको पछिल्लो अर्थनीतिको अग्रणी अभ्यासकर्ता समेत मानिनुहुन्छ ।

सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गर्नुभएको छ ।खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिनुभएको थिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.