नाडा अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ता, गत वर्षको तुलनामा दोब्बर वृद्धि

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नाडा अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ता, गत वर्षको तुलनामा दोब्बर वृद्धि

काठमाडौं । ६ दिन चलेको नाडा अटो शोमा गत वर्षको तुलनामा दोब्बर बढी अवलोकनकर्ता आएको नाडा अटोमोबाइल एसोसिएसनले जनाएको छ । 

 गत मंगलबारदेखि सुरू भएर आइतबार सकिएको अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ता आएको एसोसिएसनले जनाएको हो ।

एसोसिएसनकाअनुसार सबैभन्दा बढी अवलोकनकर्ता गाडी निर्माता कम्पनी दिपालको स्टलमा पुगे, जहाँ दिपालको उड्ने ट्याक्सी तथा रोबोटसँगै गाडीहरू पनि प्रदर्शनमा राखिएका थिए । 

यसैगरी दुई पाङ्ग्रेमध्ये सबैभन्दा बढी आकर्षण भने रोयल इन्फिल्ड मोटरसाइलको स्टलमा देखियो । अटो शोमा गाडीका ३० वटाभन्दा बढीसहित कुल १ सय २५ स्टल थिए । समापन कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष करणकुमार चौधरीले नाडाको एक्स्पो सफल रहेको दाबी गर्नुभयो ।

नाडा अटो शो सुरू हुनुभन्दा ९ दिन अघि अर्थात् साउन २५ गते नाइमा अटो एक्स्पो सम्पन्न भएको थियो । अटोमोबाइल आयातकर्ताको संगठन नाइमाले गरेको कार्यक्रमलाई लक्षित गर्दै चौधरीले नाडाले आगामी दिनमा पनि अन्यले गरेभन्दा राम्रा एक्स्पो गर्ने दाबी गर्नुभयो । 

अटोमोबाइल क्षेत्रमा ५० वर्षदेखि नाडा एउटै संस्था रहेकामा गत वैशाखमा गाडी आयातकर्ताहरूले नाइमा स्थापन गरी एक्स्पो गरेका थिए, जसमा झन्डै १ लाख अवलोकनकर्ता पुगेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.