काठमाडौं । नाडा अटो शो २०२५ मा सवारी साधन बुकिङ गर्नेहरु गतवर्षभन्दा बढेका छन् । गतवर्षको नाडा अटो शोमा भन्दा यस वर्ष सवारी साधन बुकिङ गर्नेहरु २० प्रतिशतले बढेको व्यवसायीहरुले बताएका हुन् ।
एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले निजी कारको बुकिङ गत वर्षभन्दा २० प्रतिशतले बढेको जानकारी दिनुभयो । वार्षिक हुने कुल कारोबारमध्ये ४० प्रतिशत नाडामा नै बुकिङ हुने गर्दछ ।
यसपटकको बजेटमा सवारी साधनसम्बन्धी नीतिगत स्थिरता कायम भएको र बैंकको ब्याज पनि सस्तो भएकाले कारोबार बढेको हो । त्यही कारण पनि नाडा अटो शोमा सवारी खरिद गर्ने र अवलोकन गर्नेहरुको घुइाचो लागेको छ । तर, सार्वजनिक यातायातमा प्रयोग हुने सवारी साधनको ब्यापारमा भने खासै सुधार देखिएको छैन ।
गत असार २४ गते रसुवागढी नाकामा आएको बाढीले मितेरी पुल बगाएपछि चीनबाट आयात गरिने सवारी साधन तातोपानी नाका हुँदै ल्याउने गरिएको छ । तर तातोपानी नाकाबाट समयमै सवारी साधन नभित्रिँदा नाइमा एक्स्पोमा मात्रै होइन नाडा अटो शोमा पनि प्रदर्शनमा राख्ने भनिएका गाडी ल्याउन नपाएको व्यवसायीको गुनासो छ ।
यस पटकको नाडा अटो शोमा उपभोक्ताले आरामदायी विद्युतीय कारको खोजी बढी गरेका छन् । यस्ता कारको माग बढेकाले अब आयात पनि बढाउने व्यापारी बताउँछन् ।
गत मंगलबारदेखि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सुरु गरेको नाडा अटो शो आइतबार सकिने छ ।