सल्यानमा कुखुरापालनलाई मुख्य व्यवसाय बनाउनेहरू बढ्दै, १ सय ३४ वटा व्यावसायिक फार्म दर्ता

भाद्र ६, २०८२ |सरिता चलाउने
सल्यानमा कुखुरापालनलाई मुख्य व्यवसाय बनाउनेहरू बढ्दै, १ सय ३४ वटा व्यावसायिक फार्म दर्ता

सल्यान । सल्यानमा कुखुरापालनलाई मुख्य व्यवसाय बनाएर आय-आर्जन गर्नेहरू बढिरहेका छन् । आम्दानी बढ्दै जाँदा दुईचार सयबाट सुरू गरिएका यस्ता फार्ममा हजारौं कुखुरा पाल्न थालिएको छ । सल्यानमा हाल १ सय ३४ वटा कुखुरा फार्म दर्ता भई व्यवसायिकरूपमा कुखुरापालन हुँदै आएको छ ।

बागचौर नगरपालिकाका-७ का तारादेव वलीले सुरूमा एउटा सानो कोठाबाट ब्रोइलर कुखुरापालन सुरू गर्नुभयो । गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्यले उहाँले २०७७ सालमा फार्म दर्ता गरेर कुखरापालन व्यवसाय विस्तार गर्नुभयो । कुखरापालनको आम्दानीले गाउँमै जग्गाजमिन जोड्न सफल उहाँसँग अहिले १८ हजार कुखुरा छन् भने वार्षिक २० लाख आम्दानी गर्नुहुन्छ ।

त्रिवेणी गाउँपालिका लुहामका अर्जुन श्रेष्ठले पनि पछिल्लो एक दशकदेखि लेर्यस जातका कुखरापालन गर्दै आउनुभएको छ । उहाँ २२ सय कुखुराबाट दैनिक १५ सय अन्डा उत्पादन गरि बजारमा पठाउनुहुन्छ । 

जसबाट वार्षिक १० लाख आम्दानी हुन्छ । वैदेशिक रोजगारीबाट फर्किएका त्रिवेणी गाउँपालिका कारेवासका रहिम दास मियाले पनि कुखुरापालनबाट वार्षिक २० लाख आम्दानी गर्नुहुन्छ । उहाँको फार्ममा दैनिक १७ सय अन्डा उत्पादन हुन्छ ।

पछिल्लो समय सल्यानका धेरै युवा कुखुरापालन व्यवसायमा लागेका छन् । जिल्लामा मासु र अन्डाको माग धेरै छ । स्थानीय उत्पादनबाटै माग पूर्ति गर्न गाउँगाउँमा कुखुरापालन व्यवसाय विस्तार हुँदैगएको छ ।

जिल्लाका केही स्थानीय तहले अनुदान, सहुलियत ऋण र बजार पहुँच विस्तारका कार्यक्रम अघि सारेका छन् । यस्तै अण्डा उत्पादनमा अनुदानसमेत दिएका छन ।

सल्यानमा स्थानीय जातका कुखुरासँगै ब्रोइलर, लेर्यस, हाँस कालिजलगायत पालन भइहेको छ । व्यवसायिक रूपमा १ सय ३४ फार्म दर्ता भएका छन् । जिल्लामा वार्षिक ८ करोड ३५ लाख २० हजार अण्डा उत्पादन हुन्छ । उत्पादित अण्डा र मासु जिल्लामै खपत हुन्छ । स्थानीय उत्पादनले माग धान्न सकिरहेको छैन ।

युवा किसानहरूको उत्साहलाई मूल्यको उत्तारचढाव, रोग र दाना महंगो हुनेजस्ता कुराले चुनौती दिइरहेको छ । युवा उद्यमीलाई कुखुरापालनले आत्मनिर्भर बन्ने ठूलो मद्दत गरेको छ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।