बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र

सरकारले कुनै पहल नगर्दा व्यापार चक्र नै प्रभावित भएको व्यापारीको आरोप
श्रावण २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र

काठमाडौं । रसुवागढी नाका बाढीले अवरूद्ध भएको एक महिना बित्दा पनि सडक सञ्चालनमा ल्याउन सरकारले पहल नगर्दा अर्बौंका सामान अलपत्र परेको गुनासो व्यापारीले गरेका छन् ।

व्यापारीहरूले केरूङ र तातोपानी नाकामा रोकिएका सामान काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । गत असार २४ गते आएको बाढीले नेपाल-चीन सीमाको मितेरी पुल बगाउनुका साथै ठाउँ-ठाउँमा सडक अवरूद्ध हुँदा व्यवसायीहरुले दशैं-तिहारका लागि ल्याएका सामान नाकामै रोकिएका छन् । 

नेपाल हिमालय सीमापार व्यापार संघका अनुसार रसुवा र तातोपानी नाकामा करिब एक हजार कन्टेनर रोकिएका छन् । तर सरकारले अहिलेसम्म सडक सञ्चालन गर्न कुनै पहल नगरेको व्यापारीको भनाइ छ ।

नाकामा सामान रोकिँदा काठमाण्डौंका थोक बजारमा सामान आउन सकेको छैन । अर्बौं रूपैयाँ बराबरको सामान नाकामा रोकिँदा व्यापारको चक्र नै खल्वलिएको उनीहरुको भनाइ छ ।

यता सरकारले भने रसुवाको सुख्खा बन्दरगाह सार्ने गृहकार्य गरिरहेको बताएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नाकामा रोकिएका सामानको भन्सार सार्ने प्रकृया कसरी अघि बढाउने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

भएका सामान छिटोभन्दा छिटो ल्याएर बजार चलायमान हुने वातावरण मिलाउन व्यापारीहरूले माग गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.