गत वर्ष रामेछापको सुनापति गाउँपालिकाले ८० प्रतिशत बजेट खर्च गर्‍यो

श्रावण ८, २०८२ |नवराज श्रेष्ठ
गत वर्ष रामेछापको सुनापति गाउँपालिकाले ८० प्रतिशत बजेट खर्च गर्‍यो

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा जम्मा बजेटको ८०.५६ प्रतिशत खर्च गरेको छ। 

बिहीबार सम्पन्न गत आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले कूल बजेट ५३ करोड २८ लाख ७७ हजार ४४० रूपैयाँ रहेको जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार पुँजीगत तर्फ १५ करोड ४१ लाख ९५ हजार ६८५ रूपैयाँ बजेट विनियोजन गरिएकोमा ७६.२५ प्रतिशत खर्च गरिएको छ भने चालु तर्फको ३० करोड ४२ लाख ७३ हजार २२६ रूपैयाँ मध्ये ८२.९५ प्रतिशत खर्च भएको हो।

कार्यक्रममा उहाँले गाउँपालिकामा रहेका ५ वटै वडामा गरी ७८ वटा योजना निर्माण गरिएको जानकारी दिनुभयो। ती सबै योजना समयमै सम्पन्न भई भुक्तानीसमेत गरिएको बताउँदै, प्रशासकीय प्रमुख श्रेष्ठले योजनाहरू कार्यान्वयनमा प्रभावकारीता देखिएको दाबी गर्नुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्षभरि भएका विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी भएका नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा पालिका र वडा तहबाट प्रवाह भएका सार्वजनिक सेवाहरूसँग सम्बन्धित प्रश्नहरू राखेका थिए। 

नागरिकका जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, विभिन्न शाखा प्रमुखहरू र वडा अध्यक्षहरूले जवाफ दिनुभएको थियो।

उपस्थित सरोकारवालाहरूले सेवा प्रवाहमा देखिएका कमजोरी, ढिलासुस्ती, पारदर्शिता, प्राथमिकता निर्धारणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए। स्थानीयको सुझाव र प्रतिक्रिया आगामी योजना निर्माण र कार्यान्वयनमा समावेश गरिने गाउँपालिका अध्यक्ष तामाङले प्रतिबद्धता जनाउनुभयो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।