काठमाडौं । गत आर्थिक वर्षमा पनि घरजग्गा कारोबारमा सुधार आउन नसकेको देखिएको छ । महंगा जग्गाको कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व बढेको देखिए पनि समग्र घरजग्गा कारोबार भने अघिल्लो वर्षको तुलनामा कम भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा १६ लाख २० हजार ८ सय ९५ पटक घरजग्गा कारोबार भएको थियो । जुन गत आर्थिक वर्ष २०८१/८२ मा घटेर १५ लाख ८० हजार ८ सय ९८ मा सीमित भएको छ ।
अर्थतन्त्र शिथिल रहेका बेलामा भन्दा पनि यो वर्ष २९ हजार कारोबार घटेको हो । तर राजस्व संकलन भने ९ अर्बले बढेको छ । शहर र आसपासका जग्गाको कारोबारमा केही बढ्दा राजस्व बढेको हो । अघिल्लो आर्थिक वर्षमा घरजग्गा कारोबारबाट ४० अर्ब राजस्व प्राप्त भएकोमा गत वर्ष ४९ अर्ब संकलन भएको छ ।
घरजग्गा कारोबारबाट अघिल्लो आर्थिक वर्ष १४ अर्ब ३५ करोड पुँजीगत लाभकर प्राप्त भएको थियो । तर गत वर्ष यस्तो लाभकर बढेर १८ अर्ब २३ करोड पुगेको छ । घरजग्गामा ५ वर्षभन्दा बढीको स्वामित्वको किनबेचमा ५ प्रतिशत र ५ वर्षसम्मको स्वामित्वमा ७ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ ।