सन्तुलित मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सांसदहरूको सुझाव

नीतिले सरकारका नीति र योजनाहरूलाई सघाउनुपर्नेमा जोड
असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सन्तुलित मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सांसदहरूको सुझाव

काठमाडौं । सांसदहरूले राष्ट्र बैंकको मौद्रिक नीतिले सरकारका नीति र योजनाहरूलाई सघाउनुपर्ने सुझाव दिएका छन् ।

अर्थ समितिको बुधबारको बैठकमा भएको मौद्रिक नीतिबारेको छलफलमा सांसदहरूले नयाँ गभर्नर विश्व पौडेलबाट नीजि क्षेत्रले धेरै सुधारको आशा गरेको पनि बताए ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यवसायिक काम गर्न चाहनेलाई लगानी बढाउनुपर्ने भन्दै घरजग्गामा अनावश्यक रूपमा धेरै लगानी भैसकेको बताउनुभयो ।

माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले धेरै लचिलो नहुन र अर्थतन्त्र सन्तुलित हुने गरी संयमित मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मिनबहादुर श्रेष्ठले ब्याजदर र कर्जा व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । बैंकिङ क्षेत्रको ठूलो रकम घरजग्गामा जाँदा पनि समस्या बढेको उहाँको भनाइ छ ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकको लाइसेन्स बन्द गरिनु तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण भएको बताउनुभयो । अर्थतन्त्र चलायमान नहुँदा जनतामा निराशा छाएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.