सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनिश्चित भएको छ । अपारदर्शी तरिकाले योजना छनाेट गरिएको भन्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रलगायत एकीकृत समाजवादी र राप्रपाको बहिष्कारका कारण बजेट अनिश्चित बनेको हो ।
प्रतिपक्ष दलहरूको बहिष्कारका कारण दिउँसो ३ बजे अधिवेशन सुरू हुने भनिएको अहिलेसम्म सुरू हुन सकेको छैन ।
सरकारले योजना बैंक सूची सार्वजनिक नगरेको, बजेटमा कुन-कुन योजना समावेश भए भनेर प्रदेश सभा सदस्यलाई जानकारी नदिएको, एउटा जिल्लाका प्रदेशसभा सदस्यले अर्को जिल्लाका योजना छनाेटका लागि सिफारिस लिएको र योजना बैंकमा समावेश भएको मध्ये बजेटमा पर्ने योजना छनाेटको मापदण्ड समेत नबनाएर बजेट ल्याउन खोजिएको भन्दै प्रतिपक्ष दलहरूले बजेट बहिष्कार गरेका हुन् ।
यद्यपि, सहमतिको प्रयासका लागि प्रमुख प्रतिपक्ष माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र मुख्यमन्त्री यामलाल कँडेलबीच अहिले छलफल भइरहेको छ । बजेट आउने निश्चित भएपछि प्रदेश सरकार सचिवलगायतका कर्मचारीहरू पनि प्रदेशसभा परिषरबाट बाहिरिएका छन् ।
संसद्मा बजेट प्रस्तुतका प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २ बजे नै बजेट पास गरिसकेको थियो ।