इजरायलले शुक्रबार बिहान सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच भीषण युद्धको रुप लिएको हो । इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् । दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी छ ।
इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेपछि इजरायली सहरहरू उच्च सतर्कतामा राखिएका छन् । इजरायली सेनाले तेहरानस्थित शाहरान तेल डिपोसहितका प्रमुख सैन्य संरचनाहरुमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इरानी राष्ट्रपति मासुद पेजेश्कियनले इजरायलले तत्काल युद्ध नरोके कडा जवाफ दिने चेतावनी दिनुभएको छ । इस्लामिक रिभोल्युसनरी गार्डले पछिल्लो ४८ घण्टामा इजरायलबाट प्रहार गरिएका तीन क्रुज मिसाइल, १० वटा ड्रोन नष्ट गरेको दाबी गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउनुभएको छ । नेतन्याहूले अमेरिकालाई आफ्नो सैन्य अभियानमा सामेल हुन आग्रहसमेत गर्नुभएको छ । अमेरिकाले भने हालका इजरायलको प्रस्ताव अस्वीकृत गरिदिएको छ ।
यसैबीच, आजका लागि तय अमेरिका र इरानबीचको आणविक वार्ता पनि भंग भएको छ । मध्यस्थताको भूमिकामा रहेको ओमानले स्थिति बिग्रिएपछि वार्ता रद्द भएको जनाएको हो ।
यता, गाजामा मानवीय संकट थप गहिरिएको छ । इजरायलको पछिल्लो आक्रमणमा ७९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश अमेरिकी र इजरायल-समर्थित मानवीय सहायता केन्द्रनजिकै मारिएका हुन् ।