अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरू आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरू आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजि गर्नेहरू आउने दिनमा निराश हुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीति र वित्त नीतिबीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताउनु भयो । 

उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंककाबीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गर्नुभयो । यी दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको उहाँले बताउनु भयो । 

उचित संयोजन र सन्तुलन कायम हुनसके पारस्परिक सम्बन्धि जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरू सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्नसके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यी दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताउनु भयो । मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यी दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । 

आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्ने बताउनु भयो । उहाँले मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरू उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गर्नुभयो । उहाँले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै आफूहरूको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सिमित हुनु नहुने बताउनु भयो । कार्यकारी जिम्मेवारीमा रहेकाहरूको काम समस्या देख्ने र समाधान गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.