काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धि निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेपछि सरकारले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गरेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागले सबै मालपोत कार्यालयलाई निर्देशन दिादै जग्गा बिक्री गर्ने कै खातामा रकम जम्मा भएको हुनुपर्ने व्यवस्था गरेको हो । त्यसरी रकम जम्मा गरेको बैंक स्टेटमेन्ट जग्गा पास गर्दा अनिवार्य पेश गर्नुपर्ने छ । यसअघि घरजग्गा बिक्री गरेको रकम आफन्तको खातामा जम्मा गरेको भौचर मात्र पेश गरे पनि हुने व्यवस्था थियो ।
त्यसैगरी विभागले सरकारी कर्मचारी, राजनीतिक दलको नेतामाथि समेत निगरानी बढाउने भएको छ । अब जग्गा खरिद गर्नेले आफू सरकारी उच्च पदमा रहे/नरहेको पनि खुलाउनुपर्ने छ ।
त्यस्तै जग्गा पास गर्दा केवाईसी फाराम भर्नुपर्ने र बैंकबाट राजस्व तिरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै तीन करोड वा त्यसभन्दा बढीको जग्गा किनबेच गर्नेहरुले राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने भएको छ ।