संस्कृति बचाउन जेनेरेटरबाट पानी तानेर रोपाइ

जेष्ठ १५, २०८२ |डीबी बुढा
संस्कृति बचाउन जेनेरेटरबाट पानी तानेर रोपाइ

जुम्ला । परम्परादेखि चल्दै आएको रिती संस्कृति बचाउन चन्दननाथ भैरवनाथ मन्दिरको शेराडाब जिउलोमा जेनेरेटरबाट पानी तानेर रोपाइ चलेको छ । पुर्खाहरूले चलाएको चलन अनुुसार शेराडाबमा अनिवार्य रूपमा मार्सीधानको रोपाइ गर्नुपर्ने हुन्छ । सरकारी कर्मचारी, भक्तजनहरू र सरोकारवालाहरूले नै शेराडाब जिउलोमा रोपाइ गरेका हुन ।

तिला नदिमा पानीको बहाव घटेकोले शेरा जिउलोको कुलोमा दशकौं देखि पानी बग्न छाडेको छ । त्यही भएर हरेक वर्ष जेनेरेटरको माध्यमबाट पानी तानेर रापाइ चल्ने गरेको छ । कुलो बनाउने तिर कसैको ध्यान जान नसकेको स्थानीयको आरोप छ ।

पहिले शेराडाबको ५३ मुरी खेतमा मार्सीधानको खेति भइरहेको थियो । पछिल्लो समयमा सिंचाइ गर्ने कुलो नभएकोले १८ मुरी खेतमा मात्र मार्सीधानको खेति हुन्छ । त्यही पनि जेनेटेरबाट पानी ल्याएर सिंचाइ गर्नुपर्ने बाध्यता छ । 

स्थानीय रमानन्द आचार्यल गुठिको जग्गा अतिक्रमण हुँदै जानु, सिंचाइ कुलो बन्द हुनु र धानखेतिमा किसानको आकर्षण घट्नुले पनि शेराडाबको रोपाइको क्षेत्रफल घटेको हो ।

पटकपटक सिंचाइ कुलो बनाएर पहिलेकै अवस्थामा मार्सीधानको रोपाइ गर्ने निर्णय भइरहेकोमा हाल सम्म पनि हुन नसकेको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष अमरबहादुर थापाले दुखेसो पोख्नुभयाे । उहाँले भन्नुभयाे, ‘परम्परा देखि चल्दै आएको रोपाइ यो वर्ष पनि चल्यो । तर वर्षेनी धानको क्षेत्रफल घट्दै गइरहेको छ । यो राम्रो होइन ।’

गुठि समिति, चन्दननाथ बहुद्धेशीय सहकारी संस्था र चन्दननाथ माध्यमिक विद्यालयको सहयोगमा यो पटक मार्सी राेपिएको हो । रोपाइमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामुदेवी खड्का र गुठि समितिका अध्यक्ष अमरबहादुर थापा पनि रोपाइमा सहभागि थिए ।

रोपाइमा गीत गाउने, मागल भन्ने, बिउको मुठा समातेर नाचेर रमाइलो समेत गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख आचार्यले परम्परागत रूपमा चल्दै आएको रोपाइ निरन्तर चलिरहेको बताउनुभयाे । 

पुर्खाहरूसँग यो इतिहास जोडिएको छ । उतिबेलाको मुख्य खान्की मार्सी चामल नै थियो । अहिले लोप हुने अवस्थामा छ, आचार्यले भन्नुभयाे, ‘अहिले बजार पनि बढेको र माग पनि धेरै हुने भएकोले मार्सीको क्षेत्रफल बढाउनुपर्ने देखिन्छ ।’

पहिले चन्दननाथ मन्दिरको ५४ हजार बर्गमिटर क्षेत्रफलमा रोपाइ चल्थ्यो । अहिले गुठिको जग्गा लिजमा दिएर स्याउ खेति भइरहेको छ । केही जग्गा अतिक्रमण भइसकेको छ ।

बि.स. १२औं ताब्दीमा चन्दननाथ भैरवनाथ बाबाले मार्सीको धान तातोपानीको लाछु जिउलोको गुरूफोक्टोमा पहिलो पटक मार्सीधान रोपेका थिए । चन्दननाथ भैंरवनाथ वावाकै नाममा अहिले विशाल चन्दननाथ भैरवनाथ मन्दिर पनि छन । 

त्यसपछि चन्दननाथ मन्दिरको शेराडाबसहित जुम्ला जिल्ला र कर्णालीमा मार्सीको धान फैलिएको भन्ने चलन छ । शेराडाबमा फल्ने धान चन्दननाथ भैरवनाथ मन्दिरको भोकचलन र मन्दिरका लागि प्रयोग गरिँदै आएको छ । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।