निजी क्षेत्रको लगानी आकर्षित गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रको लगानी आकर्षित गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव

काठमाडौं । आन्तरिक तथा बाह्य रुपमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थसचिव तथा अर्थविद्ले सरकारलाई सुझाव दिएका छन् । तर, निजी क्षेत्रको नाममा निश्चित ब्यक्तिहरुमात्रै पोस्नबाट भने बँच्नुपर्ने उनीहरुको सुझाव छ ।

नेपाल जनप्रशासन संघले आयोजना गरेको 'सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक सुधार: अपेक्षा र सम्भावनाहरु' का बारेमा आयोजित कार्यक्रममा पूर्वअर्थसचिव तथा अर्थविद्ले जनतालाई सहुलियत दिने खालको बजेट आवश्यक रहेको बताएका हुन् । पूर्वअर्थसचिव विद्याधर मल्लिकले निश्चित ब्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी बजेट निर्माण नगर्न सुझाव दिनु भएको छ।

अर्थविद् पोषराज पाण्डेले भने आन्तरिक तथा बाह्य लगानी बढाउने खालको बजेट ल्याउन सुझाव दिनुभयो । साथै आन्तरिक रुपमा संभावना रहेका क्षेत्रमा प्रोत्साहन गर्ने नीतिका साथ बजेट निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

पूर्व मूख्यसचिव बिमल कोइरालाले भने राजस्व जुटाउनका लागि दायरा बिस्तार गर्ने भन्दा पनि अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन सुझाव दिनुभएको छ।

पूर्व अर्थसचिव मधुकुमार मरासिनीले पुँजीगत खर्चमा विकृति रहेको बताउँदै यसलाई सच्याउन सुझाव दिनुभएको छ। देशलाई प्रतिफल दिनेभन्दा पनि भवन निर्माणमा बजेट खर्च भइरहेको भन्दै उहाँले त्यसमा सुधार गर्न सुझाव दिनुभएको हो ।

साथै विज्ञहरुले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र अहिले वैदेशिक स्रोतमा पनि भारी गिरावट आइरहेकाले संयमतापूर्वक बजेट ल्याउन उनीहरुको सुझाव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.