काठमाडौं । चर्च ब्वाइज युनाइटेड क्लब फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । घरेलु टोली स्पोर्टिङले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । दिनेश सेर्माले ४३ औं मिनेटमा गोल गर्दै स्पोर्टिङलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाइजका समिर तामाङले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चर्च ब्वाइजले आक्रामक फुटबल खेल्यो । घरेलु टोली भने दबाबमा पर्यो ।
चर्च ब्वाइजका अर्माण्डले ६३ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दिलाए । ८५ औं मिनेटमा फोफोनाले गोल गरेपछि चर्च ब्वाइजले ३-१ गोल अन्तरको जितसहित फाइनलमा स्थान पक्का गर्यो । चर्च ब्वाइजले उपाधिका लागि भोलि हुने एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।