भक्तपुर महोत्सव समापन, आठ लाखले गरे अवलोकन

पुस ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुर महोत्सव समापन, आठ लाखले गरे अवलोकन

काठमाडौं । पाँच दिनसम्म चलेको भक्तपुर महोत्सव मंगलबार समापन भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले मंसिर २८ गतेदेखि चलेको महोत्सव आठ लाख जनाले अवलोकन गरेको दाबी भक्तपुर नगरपालिकाले गरेको छ ।

महोत्सवमा भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनसँगै वर्षभरि मनाउने चाडपर्व, परम्परागत नेवारी खाना, बाजागाजा र नाच मुख्य आर्कषण रहे । कला–संस्कृतिमा धनी शहर भक्तपुरमा मंसिर २८ गतेदेखि आयोजित महोत्सवमा अवलोकनकर्ता र विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रह्यो । महोत्सवमा विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकले यहाँको रहनसहन, जीवनशैली, कला र कला संस्कृति, नेवारी खानाका परिकार, नेवार समुदायका विभिन्न चाडपर्व र रीतिथितिबारे अभिरुचिपूर्वक अवलोकन गरे ।

महोत्सवमा स्थानीय उत्पादनसँगै परम्परागत खाना समेवजी, योमरी, चटामरी, बारा, र नेवारी भोजमा प्रयोग हुने मैलिक खाना र अइला, परपरातग च्युरा कुट्ने, चामल कुट्ने मौलिक प्रदर्शनी समेत गरियो । महोत्सवले स्थानीयको आयआर्जनमा समेत टेवा पुर्‍याएको छ । त्यसैले उनीहरूले यस्ताखाले महोत्सवको निरन्तरताको माग गरेका छन् ।

नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर मोहत्वसले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि बढाउँदै नगर र नगरवासीको समृद्धिमा योगदान पुर्‍याएको धारणा राख्नुभयो । अन्य ठाउँ हुने महोत्सवको तुलनामा भक्तपुर महोत्सव पृथक् रहेको दाबी गर्दै उहाँले करिब आठ लाखले अवलोकन गरेको बताउनुभयो ।

महोत्सवका लागि नगरपालिकाले एक करोड ५० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको छ । महोत्सवमा विभिन्न ३२ विधामा १७६ वटा स्टल राखिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement