कहिले सुरू होला नेपालबाट चीनमा भैंसीको मासु निर्यात ?

मंसिर ३०, २०८१ |सुमन पन्थ
कहिले सुरू होला नेपालबाट चीनमा भैंसीको मासु निर्यात ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चीनमा भैंसीको मासु बिक्री गर्न बाटो खुलेको छ । चीन ठूलो बजार भएकाले भैंसीको मासु निर्यातको प्रशस्त सम्भावना छ । तर, के नेपालले मासुको मापदण्ड पूरा गर्न सक्ला ? अनि, कहिलेदेखि सुरू होला नेपालबाट चीनमा भैंसीको मासु निर्यात ?

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भइसकेपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ, जसमाथि अहिले पशु सेवा विभागमा छलफल भइरहेको छ । नेपालको निर्यात मापदण्ड र चीनको माग मिल्दोजुल्दो रहेको सरकारी अधिकारीहरूको भनाइ छ । तर, नेपालमा खोरेत रोग उन्मुलन भइनसकेकाले निसंक्रमणको प्रत्याभूति नभएका कारण पहिलो चरणमा प्रशोधित मासु मात्र निर्यात गर्न लागिएको हो ।

चीनले मासु आयात गर्दा स्रोत मुलुकका भैंसी रोगमुक्त हुनुपर्ने, खाद्य स्वच्छता सहित उत्पादन भएको हुनुपर्ने, भैंसीको उमेर ३० महिनामुनिको हुनपर्ने र बध गर्दा सरकारी मापदण्ड पालना हुनपर्ने लगायतका मापदण्ड तोकेको छ । यता विज्ञहरूले चिनियाँ बजार ठूलो रहेको हुँदा नेपालमा व्यावसायिक भैंसी पालनमा जोड दिँदै प्रशोधनकर्ताको क्षमता विकास गर्नु पर्नेमा जोड दिएका छन् ।

यता सरकारी अधिकारीहरूले भने ३ वर्षभित्र निश्चित क्षेत्रमा खोरेत रोग उन्मूलन गरी काँचो मासु नै निर्यातको तयारी भइरहेको जानकारी दिएका छन् ।

अहिले नेपालबाट ५ अर्बभन्दा बढीको मासु र दुग्धजन्य वस्तु निर्यात हुने गरेको छ । अब चिनियाँ बजारमा समेत मासु निर्यात गर्दा अहिलेको व्यापार सजिलै दोब्बर हुने सम्भावना छ । तर, त्यसका लागि मापदण्ड कायम गर्दै उत्पादन बढाउनु नै अहिलेको मुख्य चुनौती हो । 


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement