काठमाडौं । मलेसियामा आजबाट एसीसी अन्डर नाइन्टिन महिला एसिया कप सुरु भएको छ । नेपालले आफ्नो पहिलो खेलमा भोलि पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
आईसीसी अन्डर नाइन्टिन विश्वकपको तयारीसमेत रहेको एसिया कपमा नेपालले पाकिस्तानलाई हराउने लक्ष्य राखेको छ । नेपालको लागि पाकिस्तान निकै बलियो विपक्षी हो । एसिया कपको लागि नेपालले फिल्डिङ र ब्याटिङमा निकै मिहिनेत गरेको छ ।
सिनियर पुरुष टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई खेल्नका लागि मनोवैज्ञानिक रुपमा पनि तयार गरेका कारण नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छन् । सिनियर टिममा समेत स्थान बनाइसकेकी पुजा महतोसँगै, सोनी पाख्रिन, साना प्रविन र कृष्मा गुरुङजस्ता उत्कृष्ट खेलाडी टिममा रहेका छन् ।
पाकिस्तानी टिम जुफिसान आयाजको कप्तानीमा रहेको छ । आक्रामक जुफसानले टिममा लामो पारी खेल्ने क्षमता राख्छिन् । २०२३ को विश्वकप पनि खेलेका हइना अहमर, कुरातुलैन पाकिस्तानका उत्कृष्ट खेलाडी हुन् । उनीहरु नेपालविरुद्ध हाबी हुनसक्छन् । यी खेलाडीलाई सुरुमै आउट गराउनु नेपालका लागि महत्वपूर्ण हुनेछ ।
पहिलो पटक पाकिस्तानसँग खेल्न लागेको टोलीको लागि भोलि महत्वपूर्ण दिनसमेत हो । नेपाली टिमले घरेलु मैदानमा दुई साताको अभ्यास गरेर गत शुक्रबार मलेसिया गएको थियो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने १२ बजे हुनेछ । नेपाल यूएईमा भएको आईसीसी अन्डर नाइन्टिन महिला टी-२० विश्वकप छनोटको विजेता बनेर एसिया कपमा समेत पुगेको हो ।